काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को प्रेम भावयूक्त गीत सार्वजनिक भएको छ ।
‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरले प्रेमभाव व्यक्त गरिरहेका छन् ।
ग्याङ्गस्टर जनराको यो फिल्ममा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत फिल्ममा रहेको यो गीतबाट बुझ्न सकिन्छ । मिरुनाले यसमा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको खुलासा गरिसकेकी छिन् । यस गीतबाट उनको पात्र चित्रणलाई लिएर थप कौतुहलता बढेको छ ।
गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको सङ्गीत रहेको छ ।
‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।



