शक्तिखोर ।
मध्याह्न १२ बजेतिर शक्तिखोर बजारमा भेटिए, इच्छाकामना गाउँपालिका वडा नं–१, थाप्राङका सोमबहादुर चेपाङ । ११ वटा डोकोलाई थाप्लोको सहारामा ढाडमा अड्याइएको थियो । वर्तमान अवस्थामा पनि उनलाई समयको खासै ख्याल हुँदैन । आकास हेरेर अनुमानमात्रै लगाउने हो । गाउँबाट बजार झनै पहिले र अहिलेमा धेरै फरक छ । तर, उनी भने गाडीको भाडा तिर्ने पैसा जोगाउन बिहानै भारी बोकेर बजार झरे ।
‘बिहान जेठो भाले बास्दा घरबाट निस्किएको, शक्तिखोर आएर एक जनालाई सोध्दा ११ बज्यो भन्नुभाथ्यो’, उनी भन्छन् । करिब एक महिनाअघि पनि उनले यसरी नै १५ वटा डोको बेचेका थिए । बाउबाजेले छोडेर गएको सीपले अहिले उनलाई परिवार चलाउने बाटो बनेको छ । ‘सानैमा बाउबाजेले काम गरेको देखेरै सिकेको हो’, उनी भन्छन्, ‘उ बेलामा यत्ति जानियो र अहिले घरखर्च चलाउन यसले सघाएको छ ।’
एउटा डोकोलाई उनले तीन सय रूपैयाँका दरले बेच्दै आएका छन् । गाडी चले पनि उनलाई तिर्ने पैसा जोगाए दुई माना चामल आउँछ भन्ने लागेर उनी पैदल घिसार्दै शक्तिखोर आइपुगेका हुन् । बिहान खानाको सट्टा चिउरा खाएर दिनभरि डोको बेच्न हिँडेका उनलाई साँझ घर फर्किन नभ्याए दोगरामा आफन्तकहाँ बस्ने योजना बनाएका छन् ।
‘चाँडै बिक्री भयो भने त फर्किन्छु, भएन भने दोगरामा एक जना गुरूङ आफन्त हुनुहुन्छ, त्यहीँ बस्नुपर्ला’, उनी भन्छन्, ‘म लेकबेँसी गर्दा सधैँ त्यहीँ बस्छु ।’ हातमा चोयाको काम गर्ने सबै सीप छ । तर, आफूसँग बाँस नहुँदा अधियाँमा काम गर्नु परेको उनले सुनाए । ‘आफ्नो बारीमा बाँस छैन । त्यही भएर अधियाँमा चित्रा र डोको बुन्छु’, उनी भन्छन्, ‘आधा बाँसको धनीले बेच्छ, आधा मैले बेच्छु ।’
अधियाँ डोको बुन्नु परेकोले पनि आम्दानी कम हुने गरेको उनको भनाइ छ । चोयाको काम गर्न साह्रै दुःख छ । तर, जानेको सीपले फुर्सदको समय खाली बस्नु परेको छैन । ‘आम्दानी थोरै भए पनि बेरोजगार भएर भोकै बस्नुभन्दा साँझ–बिहान हातमुख जोर्न सजिलो भएको छ’, उनी भन्छन्, ‘गाउँमा अरु कामको सम्भावना हुन्थ्यो भने यो काम गर्नै पर्थेन ।’ बाँस चिर्दादेखि चोया निकालेर बुन्दासम्म हात काटेर छियाछिया हुने गरेको उनी सुनाउँछन् ।
‘त्यसैले दुःखअनुसारको आम्दानी छैन’, उनी सुनाउँछन्, ‘यो पनि गाडीमा आउने हो भने एउटा डोकोको दस रूपैयाँ भाडा तिर्नुपर्छ । मान्छेको भाडा छुट्टै छ ।’ आम्दानी थोरै हुने भएकोले गाडीको भाडा जोगाउन हिँडेरै उकाली–ओराली गर्दै आएको उनको भनाइ छ ।
#डोको बेच्न हिँडेका सोमबहादुर शक्तिखोरमा विश्राम लिँदै ।



