बेनी (म्याग्दी), फागुन २४-
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।
गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि रु १० हजार, दोस्रोपटकका लागि रु २५ हजार, तेस्रोपटकका लागि रु ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।
‘‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छाँै, नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छाँै”, उहाँले भन्नुभयो । भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो ।
उक्त व्यवस्थाको कार्यान्वयनका लागि वडाध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले अनुगमन गर्ने प्रबन्ध गरिएको छ । बजारबाट भित्रने न्यून गुणस्तरका मदिराका कारण दलित समुदायमा महिलासमेत कुलतमा फसेको, पारिवारिक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ ।
यस वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती–चुरोट बिक्रीवितरण गर्न नपाइने नियमलाई समेत कडाइ गरिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ५ झिँमा गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनकै व्यवस्थामा टेकेर आयातित मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने मदिराको गुणस्तर मापन गरेर ब्राण्डिङ गर्ने कार्यलाई अघि बढाउने योजना बनाएको जनाएको छ । रासस



