देवघाट,
देवघाट महिला सञ्जालको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि गाउँपालिकाले नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरि बजेटको व्यवस्थापन गरेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अध्यक्ष थापले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको, राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरुका र संघसंस्थामा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको, सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको अध्यक्ष थापाले बताएका छन् । महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न गाउँपालिका र आफ्नोतर्फबाट विशेष जोड दिएको समेत अध्यक्षले बताएका छन् । “तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आबद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तीकरणका लागि अधिकतम लगानी गर्न आवश्यक छ ।
महिलामा गरिने लगानीले महिलासँगै परिवार,समुदाय र समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्याउँछ”, अध्यक्ष थापाले भनेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँचलगायत विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष थापाले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिएका छन् ।
साथै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी भएको, महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यावहारिक प्रत्याभूति दिलाउन आवश्यक भएको बताएका छन् । कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्दप्रसाद पौडेल,देवघाट नेकपा एमाले अध्यक्ष केशवचन्द्र न्यौपाने,५ वडा सदस्य बुद्धि बहादुर पाण्डे र सरस्वती परियार,गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,पर्यटन शाखा प्रमुख होम बहादुर भाराती,शिक्षा शाखाका शुभद्रा भट्टराई,उद्योग बाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।साथै संस्थाका सचीव एलिजा क्षेत्री अधिकारीले सञ्चालन गरेको थियो भने देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।



