म्याग्दी, फागुन ३० –
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।
“जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुकबुङ गुफा सुनसान छ,” उहाँले भन्नुभयो, “मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुकबुङ गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।” गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ ।



