काठमाडौँ, फागुन ३०-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभएको होे । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”



