चितवन, चैत ५
चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी अवस्थामा राखिएको छ । अग्नि नियन्त्रणका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती सामुदायिक वन सात सय २९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना डढेलो नियन्त्रणका लागि समुदायस्तरमा तालिम, सचेतनालगायत कार्यक्रम नियमित सञ्चालन गरिरहेको बताउनुहुन्छ ।
उहाँले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आगलागी भएमा वन, वन्यजन्तुसँग, मानव र मानवबस्तीमा असर पर्ने भएकाले स्थानीय बासिन्दासमेत सचेत रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने र लागि हालैमा के गर्ने भन्नेबारेमा आममध्यवर्तीवासीलाई प्रशिक्षित गराइएको जनाउँदै संरक्षणमा सबै जुट्ने बताउनुभयो । रासस



