भरतपुर
होस्टलमा मृत भेटिएकी सालिन पोखरेल मृत्यु प्रकरणमा तीन जना शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ ।
मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ ।
पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । जिल्ला न्याधिवक्ता शान्ति प्रसाद लुईटेलका अनुसार रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल विरुद्ध मुद्धा दर्ता गरिएको हो ।
रत्ननगर–१० स्थित एकता शिशु निकेतनको होस्टलमा फागुन १२ गते बिहान होस्टेलको पंखामा सालिन मृत फेला परेकी थिइन् । मृतकका आफन्तले हत्या र बलात्कारको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।