८ चैत, काठमाडौं । चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।
मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएकाले नै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।
निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोजेमाा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा केही बढी पेन्सन पाउने व्यवस्था छ । यसकै कारण कतिपय सचिवहरुले ५८ वर्ष उमेर पुग्न केही दिन बाँकी छँदै वा ५ वर्षे कार्यकाल नसकिंदै राजीनामा दिने गरेका छन् ।
मन्त्रिपरिषद बैठकमा श्रम मन्त्रालयसहित केही मन्त्रालय र निकायमा सचिवहरुको हेरफेर गर्नेबारे छलफल भएको छ, सूची टुंगो लगाएर प्रमाणीकरण गरिने स्रोतले बतायो । विभिन्न मन्त्रीहरुले आफूअनुकुलका सचिव सरुवा गरेर लैजान खोजेका छन् ।



