रामजी खाँणले तताए नारायणी किनार

images
  • 279
    SHARES
  • चैत्र १०, २०८० शनिबार
    रामजी खाँणले तताए नारायणी किनार
    images

    नारायणगढ ।

    प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा शनिबार साँझ लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीले धमाका मच्चाएका छन्। शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू भएको महोत्सवमा गायक ठकुरीले नयाँ तथा पुराना गीत गाएर सन्धयाकालीन दर्शक उफारेका हुन्।

    418981200_3590782684584628_7680255516335800388_n.jpg

    हालै चर्चामा रहेको दोहोरी गीत ‘बेल्ले छ्याँबा मो’ गाउँदै उनी मञ्च उक्लिँदा सूर्यास्त भइसकेको थियो। साँझ ढल्किँदै जाँदा रामजीको प्रत्यक्ष आवाज पर्खेर बसिरहेका दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन्।

    ‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ भन्दा दर्शकदीर्घा धुलो उडाउँदै थिए। ‘जाम भन्यो लाहुरेले’, ‘फूल फुलेर पहेँलै भयो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

    418722350_2226612957675130_3601976580702815611_n.jpg

    यस्तै चितवने गायक मुक्ति सापकोटा, कृष्ण तामाङ, उपेन्द्र गोरखालीलगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूले नाचगान गरेर रमाइलो गरेका थिए। साथै प्रत्यक्ष दोहोरीमार्फत मनोरञ्जनसमेत दिलाएका थिए।

    चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक पहिचानले समेत निरन्तरता पाइरहेको छ। फागु पर्व संघारमै आउँदा शनिबारको मञ्चमा पनि थारू कलाकारहरूले प्रस्तुति दिएका थिए।

    साथै तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवन, नेपाल मगर विद्यार्थी संघका कलाकारहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजाति समुदायका साँस्कृतिक नृत्यले निरन्तरता पाउने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए।

    419079326_1234633610841834_183228567540532382_n.jpg

    साँस्कृतिक कार्यक्रममै सिलसिलामा आज आइतबार राष्ट्रियस्तरका कलाकारहरू अस्मिता डल्लाकोटी, महिमा श्रेष्ठ, श्याम राना, दीपक खड्कालगायत आउने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए। त्यसका आलवा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकार तथा चितवनका स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाउने छन्।

    साँस्कृतिक गाउँ नै प्रमुख आकर्षण

    महोत्सवको प्रवेशद्वारमै निर्माण गरिएका आदिवासी जनजाति परिसरले महोत्सव अवलोकन गर्न आउनेहरूको ध्यान खिचेको छ। ११ वटा जातजातिको पहिचान झल्किने गरी बनाइएको नमुना घर नै धेरैले मन पराएको आदिवासी जनजाति साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालले दाबी गरे।

    महोत्सवमा शनिबार ‘सिल्भर म्यान’ले पनि एउटा हातले फलामको डण्डीमा टेकेर उभिएको दृश्यलाई पनि धेरैले मन पराएका छन्। मञ्चको दायाँतर्फ नदी किनारमा बनाइएको पेटीमा उभिँदा धेरै जना त्यहीँ झुम्मिएका थिए। धेरैजनाले तस्बिरसमेत खिचेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend