सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता हुन्छ : गृहमन्त्री रवि लामिछाने

images
  • 180
    SHARES
  • चैत्र ११, २०८० आइतबार
    सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता हुन्छ : गृहमन्त्री  रवि लामिछाने
    images

    चितवन 

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको दाबी गर्नुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो । सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उहाँले बाचा गर्नुभएको छ ।

    गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई पक्राउ गर्नको लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो ।

    सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उहाँको भनाइ थियो ।

    फरक प्रसङ्गमा उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताउनुभयो । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend