देवघाट चैत १७
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शनिबार तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा चितवन जोड्ने त्रिशूली नदीको मोटरेवल पुलको उद्घाटन गरेका छन् । शनिबार राष्ट्रपति पौडेलले ठिमुरा पूल चितवन खण्डमा रिवन काटि पुल प्रवेश गरी पुलको देवघाट खण्डमा रहेको शिलालेखलाई अनावरण गरी पुलको उद्घाटन गरिएको हो । तीन वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरिएको पुल १० वर्ष पुग्नै लाग्दा बल्ल बनेको हो । पुल निर्माणका लागि २०७१ सालको कात्तिकमा सम्झौता भएको थियो। २०७४ सालको कात्तिकसम्ममा बनिसक्नु पर्ने पुलको निर्माण कार्य केही दिनअघि मात्रै सम्पन्न भएको हो ।
यो १० वर्षमा सडक कार्यालयमा दश जना कार्यालय प्रमुख परिवर्तन भए सडक विभागमा कैयौं डिजीहरू फेरिए बल्ल–बल्ल पुल बनेको छ,’ पुल निर्माणका लागि बनेको उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले भने,‘२०६७ सालबाट पुल निर्माणका लागि प्रयास थालेका थियौं अनेक हण्डर खादाखादा बल्लबल्ल पुल बनेर उद्घाटन गर्न पायौँ पौडेल । पुलको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो पुल बनाउनका लागि आफूले एक दशक भन्दा अघिदेखि प्रयत्न थालेको बताए।
निर्माण सुरू गर्नु अघि र पछि धेरै अवरोधहरू आइ लागेको उनले बताए। "देवघाटभाम जस्तो पवित्र धार्मिकस्थलमा जान पक्की पुल थिएन झोलुङ्गे पुलमात्रै थियो यहाँ पुल आवश्यक छ भनेर मैले एक दशकभन्दा अघिबाट प्रयत्न गरेँ। तर अवरोधहरू धेरै आए,’ उनले भने, ‘ढिलै भए पनि प्रयत्न सफल भएको छ " सोही अवसरमा पौडेलले आफु राजनीतिमा हैन कि विकासमा जोड दिदै अगाडि बढेको बताए । साथै यस पुलले देवघाट गाउँपालिकाका पहाडी क्षेत्रका कृषि उत्पादनहरूलाई बजारसम्म पुग्न सहज भएको पौडेलले बताए। यस पुल १९ करोड १० लाख ६६ हजार ४६२ रुपैयाँ लागतमा निर्माण सक्ने गरी एलिट एडभेन्चर इन्द्रेणी जेभीसँग सम्झौता भए पनि पछि संशोधन गरी २१ करोड ५० लाख १३ हजार ७४६ रुपैयाँमा सम्झौता गरिएको थियो ।
सो पुल उद्घाटन कार्यक्रममा माननीय उप-प्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रघुबीर महासेठ,गण्डकी प्रदेशका माननीय मन्त्री महेन्द्रध्वज जि.सी,भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहालले मन्तव्य राखेका थिए । देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवर लगाएतको उपस्थिति रहेको थियोे ।



