भरतपुर चैत २७
तमू प्ये ल्हु संघ चितवनले आज परेको ट्हो त्हें पर्व एक अन्तरक्रिया कार्यक्रम गरी मनाएका छन् ।

मंगलबार नौरङ्गे खेमा तमू समाजको व्यवस्थापन र तमू प्ये ल्हु संघ चितवनको आयोजनामा सो कार्यक्रम मनाइएको हो । सो पर्व प्हच्यु गुरूहरूको उपस्थितिमा बिहानैदेखि पूजापाठ गरेर पर्व मनाएको हो । दिउँसो भने तमू प्ये ल्हु संघले गुरूङ जातिले मनाउने मुख्य पर्व र तिनको महत्त्वबारे अन्तरक्रिया गरेको थियो ।

तमू प्ये ल्हु संघले हरेक वर्ष चैतको पहिलो अथवा अन्तिम मङ्गलबार ट्हो त्हें पर्व मनाउँदै आएको छ । यो पर्वबाट परिवार,गाउँ र समाजको रक्षा हुने विश्वास गरिन्छ। उक्त कार्यक्रम तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष एवं बागमति प्रदेश प्रमुख तुलाराम टु क्ल्हेप्री गुरूङको प्रमुख अतिथ्यमा भएको थियोे भने कार्यक्रममा संस्थाका सल्लाहकार जगत टु क्ल्हेप्री तमूले तमूहरूको संस्कार संस्कृतिको वर्गको विषयमा जानकारी गराएका थिए ।

भरतपुर भ्रमण वर्षको अवसरमा चितवनको नारायणी किनारामा आयोजना गरिएको आदिवासी जनजाति महोत्सवमा समय खर्चिएको हुदाँ यस पर्वको तयारी गर्न समय अभाव भएको हुदाँ वृहत् कार्यक्रम नगरेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम चह्म्रु तमूले बताए । यस वर्षको ट्हो त्हें पर्व विहान पुजापाठ गरी दिउँसो गुरूङ समुदायको संस्कार सँस्कृति,चाडपर्व सम्बन्धि अन्तरक्रिया गरी मनाएको संघका अध्यक्ष तमूले बताए ।

साथै तमूले संघका कोहि सदस्यहरू अन्यत्र कार्यक्रममा गएको बेला आफ्नो संस्थाको विषयमा स्पष्ट पार्न सिकिन्छ कि भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम राखेको बताए । कार्यक्रम प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको अध्यक्षतामा भएको हो भने सो कार्यक्रम संघका सचिव चित्र नान्सिङ्ग गुरूङले सञ्चालन गरेका थिए ।



