इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

images
  • 206
    SHARES
  • चैत्र ३०, २०८० शुक्रबार
    इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
    images

    कुरिनटार 

    चितवनको इच्छाकामना गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार गाउँपालिकाको सभाहलमा गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

    सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त  बस्नेतले हाल सम्म ६ करोड ७४ लाख राजश्व संकलन गरेको जानकारी दिएका छन् । गाउँपालिकाले यस आर्थिक बर्षमा ८ करोड ९४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताए । ढुंगा गिटी बालुवाबाट मात्र २ करोड लक्ष्य लिएकोमा १९ लाख  ४० हजार मात्र राजश्व संकलन भएको  बताए । ढुंगा गिटी बालुवाको सही  तरिकाले सदुपयोग  गर्न सक्यो भने लक्ष्य भन्दा  बढी राजश्व संकलन गर्न सक्ने  बताए । 

    हाल सम्म कुल बजेटको ४८.५२ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु तर्फ ५४.५१ प्रतिशत र पुँजीगत  तर्फ ३७.१४ करोड खर्च भएको छ । गाउँपालिकाको यस आर्थिक बर्ष २०८०।८१का लागि ६७ करोड ७० हजार विनियोजित बजेट मध्ये ३२  करोड  ५१ लख ५९ हजार खर्च भएको हो । चालु तर्फ ४४ करोड ७३ लाख ८३ हजार र  पुँजीगत तर्फ २२ करोड २६ लाख ८७ हजार  बजेट विनियोजन भएका थिए । 

    यस आर्थिक बर्षमा गाउँपालिकाबाट  पाँच लाख भन्दा  माथिका ४२ वटा भौतिक आयोजना सम्झौता भएकामा २० वटा आयोजनाको भुक्तानी सम्पन्न भएको छ । बाँकी आयोजनाको भुक्तानीको प्रकियामा रहेको छ । पाँच  लाख भन्दा मुनिका  योजनाहरु भने वडाबाटै सम्झौता  भइ काम हुने गरेको  गाउँपालिकाले जनाएको छ । 

    कार्यक्रममा सहभागीहरुले गाउँपालिकाका विद्यालयहरुमा राम्रो नतिजा नआएकोले गाउँपालिकाले शिक्षामा सुधारमा ध्यान दिनपुपर्ने सुझाव राखेका  थिए । साथै गाउँपालिकामा आउने सेवाग्राहीहरुका  लागि निवेदन लेख्न समस्या भएको  र यसका लागि सहयोगी कर्मचारी राख्नुपर्ने, सार्वजनिक जग्गा संरक्षणको अवस्था, किसानहरुको उत्पादनको बजारीकरण अनुदान, कर्मचारी नियुक्ति प्रक्रिया, शिक्षक, कर्मचारी सुरुवा प्रक्रिया, फोहोमैला शुल्क लगायतका विषयमा प्रश्न जिज्ञासा तथा सुझाव राखेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत सम्बन्धित शाखाका प्रमुखहरुले प्रश्नको जवाफ दिएका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend