कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतमा स्थानीय तहले विद्यार्थीलाई कृषि कर्ममा लगाउन थाले

images
  • 151
    SHARES
  • बैशाख ६, २०८१ बिहीबार
    कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतमा स्थानीय तहले विद्यार्थीलाई कृषि कर्ममा लगाउन थाले
    images

    पर्वत, वैशाख ६

    कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् ।

     
    जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् । विद्यालयमा पढाइ हुनेभन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूललगायत मौसमअनुसारका अन्न उत्पादनतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सञ्चालन गरेको छभने पैंयु गाउँपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरेको छ ।
    चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुईवटा विद्यालय छनोट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन् । मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लाग चालु आवमा रु दुई लाख विनियोजन गरेको छ ।

    उक्त कार्यक्रममा छनोट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिनुभयो । यो कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा बाली लगाउन सिक्ने र बाबुआमालाई कृषि कर्ममा सघाउने विश्वास व्यक्त गर्नुभयो । उनीहरूले लगाएको तरकारी, फलफूलबाट हुने आम्दानी विद्यार्थीलाई नै दिइने भएकाले पढाइ खर्चमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

    पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रमअन्तर्गत गाउँपालिका–७ भोर्लेमा रहेको जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको रु एक लाख ५० हजार लगानीमा यो कार्यक्रम थालिएको हो । यस कार्यक्रममा सम्बन्धित विद्यालयले कूल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ ।

    विद्यार्थीले बिहान, दिउँसो, साँझ पढाइको अतिरिक्त समयलाई व्यवस्थापन गरेर करेसाबारीमा काम गरनइने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बताउनुभयो । रासस

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend