तामाङ पत्रकार संघको भित्तेपात्रो सार्वजनिक

images
  • 136
    SHARES
  • बैशाख ८, २०८१ शनिबार
    तामाङ पत्रकार संघको भित्तेपात्रो सार्वजनिक
    images

    चितवन

    तामाङ पत्रकार संघ चितवनले विगतका वर्षजस्तै यसवर्ष पनि भित्तेपात्रो प्रकाशन गरेको छ। २०८१ सालको नयाँ भित्तेपात्रो शुक्रबार राप्ती नगरपालिकाका उपप्रमख देवेन्द्र लामाको विशेष उपस्थितिमा सार्वजनिक गरिएको हो। संघले संस्थाको गतिविधि चलायमान गर्दै जाने क्रममा हरेक वर्ष वार्षिक भित्तेपात्रो प्रकाशन गर्दै आएको छ।

    भित्तेपात्रो विमोचनपछि कार्यक्रमका प्रमुख अतिथि एवम् राप्ती नगरपालिकाका उपप्रमुख लामाले चितवनमा तामाङ पत्रकार संघको सक्रियता ज्यादै सह्राहनीय भएको बताए। संघीयता लागू भएसँगै हरेक तहका जनप्रतिनिधि तथा पत्रकारबीचको सम्बन्ध सुमधुर बन्दै गएको उनले बताए। तामाङ जातिकै प्रतिनिधित्व गर्दै स्थानीय तहको नेतृत्वमा आइपुगेको भन्दै उनले तामाङ पत्रकार संघको कुनै पनि गतिविधिमा नगरको तर्फबाट आवश्यक सहयोग प्रदान गरिनेसमेत प्रतिवद्धता जनाए।

    नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले चितवनको पत्रकारिता क्षेत्रमा तामाङ पत्रकार संघको योगदान विशेष रहेको बताए। सूचना पुनरावेदन समिति वागमती प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले तामाङ समुदायबाट सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू निखारिँदै जानुका साथै संगठित हुँदै जाँदा यसले समग्र चितवनकै पत्रकारिता क्षेत्रलाई बलियो बनाउँदै लगेको प्रतिकृया दिए।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका उपाध्यक्ष तुलमान गुरूङले आदिवासी जनजाति समुदायबाट संगठित भएका पत्रकारहरूमा तामाङ पत्रकार संघको भूमिका विशेष रहेको बताए। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) भरतपुर महानगर समन्वय समितिका अध्यक्ष एवम् अधिवक्ता अजयकुमार तामाङले तामाङ पत्रकार संघको कार्यक्रमले समग्रमा चितवनका तामाङ समुदायको उपस्थितिको प्रतिनिधित्व गरेको बताए।

    सुरेश तामाङलाई सम्मान
    कार्यक्रममा तामाङ पत्रकार संघको हरेक कार्यक्रममा विशेष योगदान दिएको भन्दै कार्यसमिति सदस्यसमेत रहेका पत्रकार सुरेश तामाङलाई सम्मान गरिएको छ। राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाको विशेष उपस्थितिमा खादा र प्रमाणपत्रसहित सम्मान गरिएको हो। कार्यसमिति सदस्य युवक तामाङले स्वागत मन्तव्य दिएको कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend