हुम्लामा बच्चा जन्माएको डेढ घण्टापछि आमाको ज्यान गयाे

images
  • 187
    SHARES
  • बैशाख १०, २०८१ सोमबार
    हुम्लामा बच्चा जन्माएको डेढ घण्टापछि आमाको ज्यान गयाे
    images

    हुम्ला –

    हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक महिलाको ज्यान गएकाे छ । राेडिकाेट स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतवार राति साढे १२ बजेतिर ज्यान गएकाे हाे । देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टापछि ज्यान गएकाे हाे ।

    मृतक देवकोटालाई गएकाे शुक्रवारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतवार बिहान ११ बजेमात्रै स्वास्थ्य चौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताउनुभयो । इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी बेथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।

    रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे १० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको ज्यान गएकाे इन्चार्ज बाेहराले बताउनुभयो । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उहाँले बताउनुभयाे । गाउँपालिकाकाे स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उहाँको भनाइ छ ।

    जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको बाेहराले बताउनुभयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उहाँको भनाइ छ ।

    देवकोटाले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिनुभएको थियो । दुर्गम हुम्लाका धेरैजसाे महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend