१२ वैशाख, म्याग्दी
म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो ।
‘पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ’, अधिकारीले भने ।
डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताए ।
यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० र २०७९/८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उनले जानकारी दिए ।
दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए ।
जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गर्दछन् ।



