काठमाडौँ, वैशाख १८-
आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका छन् ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतिक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मस्ले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले बितरण गर्दैछ । निर्माता भुसालले नै यस चलचित्रको लागि संगीत तयार गरेका छन् । हर्क साउद, बी पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपुत, शान्तिश्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डीओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।



