मुग्लिन , वैशाख १८-
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालिको राम्रो उत्पादन हुन्छ । तर पछिल्लो समय किसानले यी बालीको खेती गर्न छाडेका कारण प्रोत्साहनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख त्रिपाठीको भनाइ छ । अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उहाँको विश्वास छ । रासस



