धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

images
  • 216
    SHARES
  • बैशाख १९, २०८१ बुधबार
    धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
    images

    धादिङ, वैशाख १९-
    साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।

    गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवद्र्धनमा सहयोग गर्दैआएको बताउनुभयो । “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भन्नुभयो ।

    गङ्गाजमुना–२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेकोे भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताउनुभयो । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उहाँको भनाइ छ ।

    हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताउनुभयो । उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend