महिलाहरुको क्षमता अभिवृद्धि गराउँदै योङ नेपाल

images
  • 90
    SHARES
  • बैशाख २४, २०८१ सोमबार
    महिलाहरुको क्षमता अभिवृद्धि गराउँदै योङ नेपाल
    images

    भरतपुर

    उज्ज्वलनगरकी गीता पराजुली कृषि पेसामा निर्भर छिन् । स्नातकोत्तर सकाएकी उनी आफ्नो उत्पादनलाई आफैँ बिक्री गर्छिन् । त्यसकारण उनलाई बजारीकरणको समस्या छैन । उनको कर्मले स्वदेशमा खेतीकिसानी गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ । कामप्रति विश्वस्त उनी समूहमा बोल्न भने निकै धक मान्छिन् ।

    उमेरमा युवा, पढाइलेखाइमा अगाडि भएपछि समाजले सोहीअनुसारको अपेक्षा गरेको हुन्छ । त्यसकारण गाउँ, समाजमा केही काम गर्दा छिमेकीले उनैलाई अघि सार्न खोज्छ । त्यो स्वाभाविक हो । तर, समाजको अगाडि कुनै कामबारे जानकारी गराउन या आफ्ना कुरा सुनाउन पर्दा ज्यादै सकस हुन्थ्यो ।

    भरतपुर–१३ कै चम्पानगरकी रमना पण्डित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी कर्मचारी हुन् । दैनिक विभिन्न व्यक्तिसँग भेटघाट र संवाद भए पनि कुनै कार्यक्रममा उपस्थित हुँदा उनलाई सिलसिला मिलाएर बोल्न निकै मुस्किल पथ्र्यो । माइक समात्न निकै डर मान्थिन् । गीता र रमनाजस्तै समाजमा निकै अग्रसर हुन रूचाउने व्यक्ति हुन्, भरतपुर–१३ चौकीडाँडाका सन्तोष बोटे । उनी व्यावसायिक कृषक हुन् । र, समाजका अगुवा ।

    माथिका यी तीनै पात्र समाजको नेतृत्वमा आउन उत्कट चाहना भएका व्यक्ति हुन् । तर, काम गर्नमा जोश र जाँगर भए पनि धेरै मान्छेहरुका अगाडि उभिँदा खुट्टा काम्ने समस्याले बोल्नैपर्ने कुरा पनि बोल्न सक्दैनथे । केही दिनअघिसम्म कुनै संघसंस्थाले तालिम दिए पनि सहभागी हुन्थेँ भन्ने सोचेर बसिरहेका उनीहरु अन्ततः आफ्नै वडामा भएको चारदिने कार्यक्रममा सहभागी भए । तालिममा उनीहरुजस्तै ३० जना सहभागी भए ।

    चार दिनसम्ममा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाए । यही सिकाइका कारण अगाडि उभिएर बोल्न नसक्ने उनै गीता पराजुलीले शनिबार सहभागीको तर्फबाट चारदिने व्यक्तित्व विकास तथा संघसंस्था सञ्चालनसम्बन्धी तालिमको समापन मन्तव्य दिँदै आफ्ना अनुभव सुनाइन् । ‘समय थोरै भए पनि हामीलाई धेरै विषयको ज्ञान मिल्यो’, उनी भन्छिन्, ‘तालिममा आउनुपूर्व माइकको नजिक जानै डर लाग्थ्यो । तर, आज यहाँ बोल्न पाइन्छ भनेपछि हिजो राति सपनामा पनि माइकमै बोलिरहेको देखेँ ।’

    तालिम लिएपछि मनमा उत्पन्न हुने डर हराएको उनले बताइन् । ‘अब त जस्तोसुकै कार्यक्रममा पनि बोल्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, उनले भनिन्, ‘ढिलै भए पनि तालिम लिन पाएकोमा खुसी छु ।’

    चार दिनको सिकाइले बोल्ने कलाको मात्र नभई संघसंस्था सञ्चालन गर्ने तरिका र आवश्यक प्रक्रियाको विषयमा समेत धेरै ज्ञान प्राप्त गरेको उनले बताइन् । भरतपुर महानगरपालिकाको वडा नं–१३ का अधिकांश मानिसहरु पशुपालन तथा खेतीपातीमा निर्भर छन् । त्यसैले पनि यस क्षेत्रका महिलाहरुका लागि तालिमको आवश्यकता महसुस गरी वडा कार्यालयसँगको सहकार्यमा तालिम आयोजना गरिएको आयोजक संस्था योङ नेपालका अध्यक्ष विवेक पोख्रेलले बताए ।

    वडाभित्रका विभिन्न ३० वटा समूहबाट प्रतिनिधिमूलक तरिकाले ३० जना प्रशिक्षार्थी सहभागी कार्यक्रममा पुराना रेडियोकर्मीहरु अजिता अधिकारी, रामकान्त पौडेललगायत सात जना प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।

    वडा कार्यालयले सबै समूहलाई समेटेर कार्यक्रम गर्दा हाललाई प्रतिनिधिमूलक तरिकाले प्रशिक्षार्थी सहभागी गराएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाँदा धेरै जना लाभान्वित हुन सक्ने वडा नं–१३ का अध्यक्ष प्रकाश दवाडीले जानकारी दिए । ‘एकैचोटि सबैलाई तालिम दिन सम्भव नहुने हुँदा यसपटक प्रतिनिधिमूलक तरिकाले सहभागी गराउँदा सीमित व्यक्तिको क्षमता विकासमा सहयोग पुगेको छ । तर, आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने हो भने हरेक वर्ष सङ्ख्या बढाउँदै लैजान सकिन्छ’, उनले भने ।

    समाजमा यस्तै तालिमबाट आमनागरिकको क्षमतामा निखारता ल्याउन सकिने उनको भनाइ छ । तालिममा २८ महिला र २ पुरूष सहभागी थिए ।

    #तालिममा कार्यक्रम सञ्चालनको अभ्यास गर्दै सहभागीहरु ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend