चितवन । अहिले उखुम गर्मीको समय छ । गर्मीको समय चिसो पेय पदार्थ सामान्य स्वागतको संस्कार हो । चिसो भन्ने बित्तिकै आम नेपाली समुदायमा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका कोकाकोला लगायतका पेय पदार्थ मस्तिष्कमा आइहाल्छ ।
तर, चितवनको एक स्थानीय पालिकाले आफ्नो कार्यालयबाट चिसो भन्ने बित्तिकै बजारमा पाइने केमिकल मिसिएका पेय पदार्थ हुन्छन् भन्ने भ्रम हटाउन पहल गरिरहेको छ । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले आफ्नै कार्यालयबाट पाहुनाको स्वागतमा मही दिने संस्कारको थालनी गरेर चिसो पेय पदार्थ भनेको मही हो भन्ने स्थापित गर्ने अभियान थालेको हो ।
इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले भनिन्,- मलाई कोक खाने संस्कार मन परेन र कोक हटाउँ भन्ने छलफल गरेँ । तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालले पनि उनको प्रस्तावमा सहमती जनाए । उपप्रमुख सिलवाल भन्छिन्, ‘अनि सल्लाह भयो, बरु मही पिउने व्यवस्था गरौँ ।
उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सल्लाह अध्यक्ष दानबहादुर गुरुङलाई पनि काइदा लाग्यो । उनले भने, — केमिल नहालिएको पोषण पनि पाइने र स्थानीय दुग्ध उत्पादक किसानको जीवनसँग पनि जोडिएको भएपछि सबैले सहमती जनायौँ ।
मौखिक सहमतीलाई उनीहरुले कार्यपालिका बैठकमा नै लिपिबद्ध गरे । उपाध्यक्ष सिलवालका अनुसार पालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक निषेध गरेको हो ।
करिब वर्षदिनअघि कार्यपालिका बैठकको निर्णयपछि पालिकाको सानो चिया पकाउने भान्छामा भएको फ्रिजमा केही लिटर दही हरेक दिन ल्याएर राख्न थालियो । त्यसयता इच्छाकामना गाउँपालिकाको नयाँ पाहुना पुगे संस्कार गर्ने पहिलो पेय मही हुन थालेको हो ।



