बजेट अधिवेशनकाे लागि सबै तयारी पूरा

images
  • 108
    SHARES
  • बैशाख २५, २०८१ मंगलबार
    बजेट अधिवेशनकाे लागि सबै तयारी पूरा
    images

    काठमाण्डौ 

    आउँदो शुक्रवारदेखि शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ । यो अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ ।

    सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरिसक्नुभएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारीमा भइरहेको बेतिथिको विषय उठाएर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

    शुक्रवारदेखि शुरु हुने बर्खे अधिवेशन अघि सभामुख देवराज घिमिरेले आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुख घिमिरेको कार्यकक्षमा बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend