भरतपुरमा एकल महिला र ज्येष्ठ नागरिक सम्मानित

images
  • 242
    SHARES
  • बैशाख २८, २०८१ शुक्रबार
    भरतपुरमा एकल महिला र ज्येष्ठ नागरिक सम्मानित
    images

    भरतपुर

    भरतपुर महानगरपालिका वडा नं–२५ ले बिहीबार वडाभरिका ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा एकल महिला र ज्येष्ठ नागरिक गरी करिब तीन सय सम्मानित भएका थिए । सम्मानित हुन पाउँदा ज्येष्ठ नागरिक तथा एकल महिला खुसीले फुरूङ्ग भएका थिए !

    भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटा र भरतपुर महानगर प्रमुख रेनु दाहालले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेका थिए । सम्मान कार्यक्रमका प्रमुखअतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले ज्येष्ठ नागरिकहरु अनुभवका भण्डार भएकाले उनीहरुबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताइन् । उनले एकल महिलाहरुलाई जुझारू भएर साहसका साथ अघि बढ्न सुझाव दिइन् ।

    कार्यक्रममा प्रमुख दाहालले भनिन्, ‘कोही एकल महिला तथा ज्येष्ठ नागरिक समाजमा अपहेलित भएर बस्नुपर्ने बाध्यता आउन दिनुहुँदैन, उनीहरु मागदर्शक हुन्, ज्ञान, सीप र जाँगर पछिल्लो पुस्ताले ग्रहण गर्न सक्नुपर्छ ।’

    प्रमुख दाहालले भरतपुर–२५ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नलाई सुझाव दिइन् । उनले भनिन्, ‘वडा कार्यालयले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्नका लागि जग्गाको व्यवस्थापन गर्न सके बजेटको विनियोजन गर्न भरतपुर महानगर तयार छ ।’ कार्यक्रममा प्रमुख दाहालले ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि र एकल महिलाका लागि रोजगारमुखी सीपयुक्त कार्यक्रम ल्याउने प्रतिबद्धता गरेकी थिइन् ।

    कार्यक्रममा वडाध्यक्ष छविलाल सापकोटाले बर्सेनि वडा कार्यालयले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्दै आएको बताए । उनले भने, ‘ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मानमात्रै होइन, आगामी दिनमा उनीहरुका समस्याहरुको पहिचान गरी समाधान गर्नेछौँ ।’ वडाध्यक्ष सापकोटाले आगामी दिनमा ज्येष्ठ नागरिकहरुको सम्मानसँगसँगै समस्याहरु समाधानमा लाग्ने बताए । उनले भने, ‘वडाको भौतिक पूर्वाधार विकास करिब करिब पुगेको छ, अब सामाजिक विकास आवश्यक छ । वडा कार्यालय समाज रुपान्तरणमा लाग्नेछ ।’

    कार्यक्रममा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले भरतपुर–२४ का समस्या २५ का पनि भएकाले सँगसँगै दुवै वडा हिँड्नुपर्ने बताए । कार्यक्रममा टोल विकास समिति शिवालय टोलका अध्यक्ष दीपक श्रेष्ठले महानगर प्रमुख दाहाल र वडाध्यक्ष सापकोटालगायत समग्र सिङ्गो टिमलाई आगामी दिनमा वडाका समस्याहरु पहिचान गरी समाधानमा लाग्न आग्रह गरेका थिए ।

    विद्यालयको तर्फबाट प्रभात माविका प्रअ होमनाथ भण्डारीले ज्येष्ठ नागरिकका समस्याहरु समाधानमा लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा जनप्रतिनिधि शोभा तिवारीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा भरतपुर महानगरमै ‘क’ वर्गमा पर्न सफल भएको भरतपुर–२५ को श्री राष्ट्रिय मावि शोशीलाई सम्मान गरिएको थियो । यस्तै, भरतपुर भ्रमण वर्षमा झाँकीतर्फ तेस्रो भएको राधाकृष्ण मन्दिर, सरसफाइ अभियानमा सक्रिय संघसंस्था तथा समाजसेवी, बाजा समूह, थारु संस्कृति जगेर्नामा योगदान दिएका संघसंस्थालगायतलाई सम्मान गरिएको थियो ।

    #ज्येष्ठ नागरिकलाई सम्मान गर्दै महानगर प्रमुख रेनु दाहाल र वडाध्यक्ष छविलाल सापकोटालगायत ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend