‘रक क्लाइम्बिङ’ गर्दैगर्दा लडेका सूचनको मृत्यु

images
  • 285
    SHARES
  • बैशाख २८, २०८१ शुक्रबार
    ‘रक क्लाइम्बिङ’ गर्दैगर्दा लडेका सूचनको मृत्यु
    images

    २८ वैशाख, खोटाङ

    साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

    भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६:३० बजे जिल्ला अस्पताल खोटाङ पुर्‍याइएका सूचनलाई चिकित्सकले ७:४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले राससलाई जानकारी दिए । मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

    दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरुसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङ सम्बन्धी छ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो ।

    तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका पाँचजना गरी १२ जना सहभागी भएका थिए । रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक सङ्घका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए ।

    कृत्रिम भीरभन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको शेर्पाले बताए ।  पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पाको भनाइ थियो ।

    साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङ सञ्चालनको सुरुवात गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । परीक्षणकै क्रममा सूचनको लडेर मृत्यु भएपछि नगर प्रमुखलगायत जनप्रतिनिधिको  आलोचना सुरु भएको छ ।

    किराँत ऐतिहासिकस्थल मझुवागढीलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न नगरपालिकाले ‘फूलैफूलको पहाड’ सँगै रक क्लाइम्बिङस्थल बनाउने योजना अन्तर्गत वर्षेनी बजेटसमेत विनियोजन गर्दै आएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend