चितवन, जेठ १२
नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । भरतपुर–४ लंकुस्थित होटल ग्यालेक्सीमा हुने अधिवेशनको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
जेठ १४ गतेसम्म चल्ने अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, सचिव प्रकाश खनाल ‘शैलेस’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन समिति बनाइएको
हरेक तीन वर्षमा हुनुपर्ने अधिवेशन यसपटक दुई वर्ष चार महिनामै हुन लागेको हो । अधिवेशनका लागि जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायतबाट गरी ७३२ जना र मनोनित २९ गरी जम्मा ७६१ जना प्रतिनिधि चयन भएका छन् । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष न्यौपानेले बताए ।



