काठमाण्डाै –
आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै गण्डकीले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१, आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–० र हेल्प नेपालले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सेटमा हरायो ।
यस्तै महिलातर्फ एभरेस्ट भलिबल क्लबले न्यु डायमन्डलाई ३–० को सेटमा हराएको छ । महिलातर्फ नै अहिले पुलिस र एपीएफ खेलिरहेका छन् भने अहिले बेलुकी ८ बजे आर्मी र कर्णाली प्रदेश खेल्दैछन् ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।



