भरतपुर
चितवनमा शुक्रबारदेखि आएको हावाहुरीले विद्युत् पोलमा ठूलो क्षति पुगेको छ । हावाहुरीले रूख ढाल्दा बिजुलीको पोल भाँचिएका छन् भने तार चुँडिएका छन् । जिल्लामा २५० भन्दा बढी बिजुलीका पोल ढलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । मंगलबार पनि आएको हावाहुरीले थप क्षति पुगेको र क्षतिको विवरण संकलन गर्नसमेत नभ्याइएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रहरुले बताएका छन् ।
पूर्वी चितवनका केही स्थानमा पोल ढलेर चार दिनसम्म विद्युत् अवरूद्ध भएको छ । पर्यटकीयस्थल सौराहाको घण्टाघर क्षेत्र, बाघमारा, रत्ननगर नगरपालिका–९ र १४ का विभिन्न स्थान र खैरहनीका केही स्थानमा शुक्रबारदेखि बिजुली बल्न सकेको छैन । विद्युत् प्राधिकरण, टाँडी वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा मात्रै १५० भन्दा बढी पोलहरु ढलेको बताइएको छ । यस वितरण केन्द्रअन्तर्गत पूर्वी चितवनका चार पालिका र इच्छाकामना गाउँपालिका–७ को केही भाग पर्छ ।
टाँडी वितरण केन्द्रका इन्जिनियर विक्रम श्रेष्ठले ११ केभी लाइन मर्मतको कामलाई प्राथमिकता दिइएको जानकारी दिए । धेरै क्षेत्रको समस्या एकैपटक समाधान हुने भएकाले ११ केभी लाइन मर्मतको कामलाई प्राथमिकता दिइएको उनले बताए । ‘शुक्रबारदेखि विद्युत् अवरूद्ध भएको ठाउँ सौराहाको घण्टाघर एरियालगायतमा पनि मर्मतको काम सुरू भएको छ । मर्मतमा दैनिक तीनवटा ठेकेदार र वितरण केन्द्रका कर्मचारीहरु खटिनुभएको छ’, उनले भने ।
उनका अनुसार एउटा ठेकेदारका कर्मचारीले दैनिक ८ देखि १० वटा पोल गाड्न सक्छन् । नजिक र सजिलो भएको अवस्थामा १६ वटासम्म पनि पोल गाड्न सक्ने उनी बताउँछन् । वितरण केन्द्रका करिब ३० जना कर्मचारी विद्युत् मर्मतमा खटाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलभित्र मात्रै ७ वटा पोल ढलेका छन् ।
भरतपुर वितरण केन्द्रअन्तर्गत १०० भन्दा बढी पोल भाँचिएको केन्द्र प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । मंगलबारको हावाहुरीले चारवटा पोल ढालेको विवरण प्राप्त भएको उनले बताए । शुक्रबार आएको हावाहुरीले भर्खर सञ्चालन भएको देवनगर सबस्टेसनको तारमा ठूलो क्षति पुगेको उनले बताए । उक्त सबस्टेसनको जेठ ५ गते उद्घाटन गरिएको थियो । हावाहुरीले क्षति पुगेपछि शुक्रबारदेखि सबस्टेसन बन्द भएको छ ।
उनका अनुसार शिवनगर र आर्मी ब्यारेकपछाडि धेरै क्षति भएको छ । ‘मर्मत गरेपछि करिब ९८ प्रतिशत ठाउँमा विद्युत् सुचारू भइसकेको छ । करिब २ प्रतिशत ठाउँमा सुचारू गर्न सकिएको छैन’, उनले भने । हावाहुरीले पु¥याएको क्षतिको विवरण संकलन गर्न पनि आफ्ना कर्मचारीले नभ्याएको उनले बताए । उनका अनुसार चारवटा ठेकेदारका करिब ५० जना र वितरण केन्द्रका करिब ३० जना कर्मचारी दैनिक फिल्डमा खटिएका छन् ।
हावाहुरीसहित वर्षा पनि भएकाले फिडरहरुमा लोड भने ह्वात्तै घटेको छ । दैनिक ६० मेगावाट विद्युत् खपत भइरहेको भरतपुरमा वर्षापछि दैनिक ३५ मेगावाटमा झरेको उनले बताए । पटकपटकको हावाहुरीका कारण केही स्थानमा तीन दिनसम्म पनि विद्युत् सुचारू गर्न नसकिएको उनले जानकारी दिए ।
चनौली वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरका ९ वटा वडा, २ वटा वडाका केही भाग र माडी नगरपालिका पर्छ । शुक्रबारदेखि आएको हावाहुरीले आठवटा पोल भाँचिएको केन्द्र प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिए । उनका अनुसार हावाहुरीले विद्युतीय संरचनामा करिब डेढ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । ‘हावाहुरीले पोल भाँचेपछि धेरैपटक विद्युत् अनियमित भयो । हामीले जुन दिन भाँचिएको हो त्यही दिन मर्मत गरेर लाइन सुचारू गरेका छौँ ।’
एउटै लाइन चरण–चरणमा गरी मर्मत गर्नुपर्ने र त्यसका लागि बिजुली काट्ने र जोड्ने गर्नुपर्ने भएकाले पनि सेवाग्राहीले धेरैपटक विद्युत् अनियमित भएको महसुस गर्नु परेको उनी बताउँछन् । भरतपुर र टाँडीको हिसाबमा आफ्नो क्षेत्रमा खासै क्षति नभएको र बिजुली धेरै अनियमित नभएको उनको भनाई छ ।



