पाटन (ललितपुर), जेठ २३-
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागिपरेका उहाँले उल्लेख गर्नुभयो । विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङगालस्थित वाग्मती किनारमा वृक्षरोपण गर्दै मन्त्री सुडीले नेपाल र भारतको मित्रसम्बन्ध रोटी र बेटीबाट वातावरण संरक्षणमा जोडिएको उल्लेख गर्नुभयो । नेपालको समग्र विकासका लागि भारतबाट सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकामा आभार व्यक्त गर्नुभयो । भारत र नेपालले वातावरणका क्षेत्रमा मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । रासस



