सानोगढी
भरतपुर–१६, सानोगढीमा रहेको ज्ञानेश्वर सामुदायिक वनले वनक्षेत्रमा खुला चिडियाघर र शहीद पार्क निर्माणको थप योजना अगाडि बढाएको छ । वनमा बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्ने उद्देश्यका साथ योजनाहरु अघि सारिएको हो ।
खुला चिडियाघरमा वन्यजन्तुलाई हिँडडुल गर्न र खानेकुरा खान सहज हुने र प्राकृतिक वातावरणको बासस्थानको व्यवस्था हुने वनकी अध्यक्ष निर्मला श्रेष्ठ बताउँछिन् । सानो क्षेत्रको तारबारभित्र नभई एउटा वन्यजन्तु आवश्यक पर्ने न्यूनतम क्षेत्रको फराकिलो स्थानको व्यवस्था गरेर खुलारुपमा वन्यजन्तु राख्न र अवलोकनकर्तालाई अवलोकनको सुविधा दिन खुला चिडियाघर बनाउन लागिएको उनले बताइन् । भरतपुर महानगरले पाँच वर्षसम्म ज्ञानेश्वर सामुदायिक वनक्षेत्रमा भौतिक पूर्वाधार विकासमा एक करोड बढी बजेट विनियोजन गरेको उनको भनाइ छ ।
ज्ञानेश्वर सामुदायिक वनले सञ्चालन गर्दै आएको वन्यजन्तु उद्धार केन्द्रलाई खुला चिडियाघरमा रुपान्तरण गर्ने योजनासमेत अघि बढाइएको भन्दै वनले १० वर्षे कार्ययोजनामा समेत ओपन जु बनाउने योजनालाई प्राथमिकतामा पारेको उनले बताइन् । उद्धार केन्द्रलाई व्यवस्थित गर्दै अध्ययन, अवलोकनमा समेत उपयोग गर्न खुला गर्दै साना वन्यजन्तु मात्र राखिएको उद्धार केन्द्रको क्षेत्रलाई विस्तार गरी ठूला प्रजातिका वन्यजन्तुसमेत राख्ने गरी चिडियाघर बनाउन लागिएको हो । गैँडा, बाघ, भालु, हात्ती, चितुवालगायतका वन्यजन्तुसमेत राख्ने गरी खुला चिडियाघर बनाइने उनले जानकारी दिइन् ।
सामुदायिक वनमा शहीद स्मृति पार्क निर्माण गर्ने योजना अघि बढेको छ । भरतपुर महानगरपालिकाको तीन करोड बजेटमा निर्माण हुने शहीद स्मृति पार्कको डिपिआर बनेर ठेक्का सम्झौता भई पहिलो चरणमा ३५ लाख विनियोजन भएको हो । ज्ञानेश्वर सामुदायिक वनले दिएको पाँच कठ्ठा जग्गामा बन्न लागेको पार्कमा गणतन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिएर मृत्यु वरण गर्न पुगेका चितवनका शहीदहरुको मूर्ति, सङ्ग्रहालयलगायत निर्माण गरिने ज्ञानेश्वर सामुदायिक वनकी अध्यक्ष श्रेष्ठले बताइन् । ‘सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी शहीदलाई सम्झने पार्क बनाउँदै छौँ’, उनले भनिन् ।
विशेषगरी, पिकनिक स्पटका लागि अति नै प्रख्यात यो वन पछिल्लो समय सभा, गोष्ठी, सेमिनारका लागि पनि उत्कृष्ट थलो बनेको छ । यो वनमा खासगरी सिसौका बोटहरु रोपिएको हुनाले प्राकृतिक हरियाली एवं मनोरम दृश्य देख्न सकिन्छ ।
वनमा ओपन जु, एक दर्जन पिकनिक स्पट, इको पार्कलगायतका घुम्ने ठाउँहरु छन् । दुई सय २५ हेक्टरमध्ये १९ हेक्टरमा पर्यटनका गतिविधिहरु सञ्चालनमा छन् । जंगली जनावर तथा चराचुरूङ्गी अवलोकन गर्न पर्यटक ज्ञानेश्वर वन आउने गर्छन् । नारायणगढ, पुलचोकबाट करिब आठ किमी पर रहेको यस वनमा दैनिक एक हजार जना घुम्न आउने गर्दछन् ।
‘पर्यटकहरुले पार्क, चिडियाघर, नारायणी नदीको दृश्य र जंगली जनावरहरु देख्न पाउँछन्’, ज्ञानेश्वर सामुदायिक वनकी अध्यक्ष श्रेष्ठले भनिन्, ‘एकदिनमा ९२ वटा टिमसम्म पिकनिक खान आउने गर्छन् । पिकनिक खानेबाहेक घुमफिर गर्न वार्षिक २५ हजार जनासम्म आउँछन् ।’ ज्ञानेश्वर वनले २०६० सालदेखि वनमा वन्यजन्तु उद्धार गरेर राख्न थालेको हो ।
वनमा घाइते भएका र वनबाट निस्केर मानवबस्तीमा पुगेका साना वन्यजन्तुलाई उद्धार गरेर राख्ने अवधारणाअनुसार वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको पूर्वअध्यक्ष राजन अधिकारी बताउँछन् । ‘वन्यजन्तु उद्धार गर्नुमात्र नभई अध्ययन केन्द्रका रुपमा विकास गर्नु प्रमुख उद्देश्य हो’, उनी भन्छन्, ‘सहरीकरण र आधुनिकीकरण भइराखेको समयमा धेरैलाई वन्यजन्तुबारे जानकारी दिन चिडियाघरले मद्दत हुनेछ ।’ वन्यजन्तु चिन्ने, अवलोकन गर्ने, वन्यजन्तुको संरक्षण गर्नुपर्छ, वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश खुला चिडियाघरले दिने अध्यक्ष अधिकारी बताउँछन् ।
सुरूमा जरायो र अजिङ्गर राखेर उद्धार केन्द्र स्थापना गरिएको थियो । मानिस र वन्यजन्तुका कारण घाइते भएका साना वन्यजन्तुको उद्धार गरेर केन्द्रमा राख्ने र उपचार तथा हेरचाहपछि वनमा नै छाड्ने गरिन्थ्यो । नजिकका बस्तीमा अजिङ्गरहरु भेटिँदा पनि वनलाई खबर आउने गर्छ । गाउँमा भेटिएका अजिङ्गर समातेर उद्धार केन्द्रमा राखिन्छ ।
धेरैवटा राखेर पाल्न खर्चिलो हुने भएकाले निको भएका वन्यजन्तुलाई जंगलमा लगेर छाड्ने गरिएको छ । केही वन्यजन्तु भने उद्धार केन्द्रमा राखेर सामुदायिक वन घुम्न आउनेलाई हेर्न दिने गरिएको अधिकारी बताउँछन् । घाइते वन्यजन्तुलाई त्यहीँ सामुदायिक वनमा राखिएकाले त्यहाँ घुम्न आउने पर्यटकका लागि अवलोकन क्षेत्र बनेको उनले बताए ।
दुई सय २५ हेक्टरमध्ये १९ हेक्टरमा पर्यटनका गतिविधिहरु सञ्चालनमा छन् । जंगली जनावर तथा चराचुरूङ्गी अवलोकन गर्न पर्यटक ज्ञानेश्वर वन आउने सामुदायिक वन उद्यम तथा पर्यापर्यटन राष्ट्रिय सञ्जालका उपाध्यक्ष शूरवीर पोख्रेलले बताए । नारायणी नदीमा ¥याफ्टिङ, तटीय क्षेत्र, संरक्षित घाँसे मैदान, जंगल ड्राइभ यहाँका थप आकर्षणका केन्द्रबिन्दु हुन् । वनको १० लाख रूपैयाँको लागतमा वाटर फाउन्टेन निर्माण भएको उनले बताए ।



