काठमाण्डाै
काठमाण्डाै उपत्यकालगायत बाग्मती प्रदेशका केही ठाउँमा भाेलि शनिवारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा शुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनुभयो ।
‘कोशी प्रदेशका धेरैजसाे क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन शुरु भएको एक हप्तापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो तर भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो’, उहाँले भन्नुभयो ।



