काठमाडौं, असार ३
राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाएको छ।
मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनको क्रममा रहेका उपसचिवलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि विभिन्न १८ जिल्लामा खटाएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता लिँदा समेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि अहिले जिल्लामा सेवाग्राहीको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौटलगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा सेवाग्राहीको अत्यधिक भिडभाड हुन पुगेपछि कार्यालयको काम कारबाही व्यवस्थापन गर्न समस्या परिरहेको गुनासो छ । यो गुनासोपछि उपसचिवलाई सहजीकरणका लागि जिल्लामा खटाइएको गृहसचिव एकनारायण अर्यालले बताए ।



