चितवनका भुजेल समुदाय भाषा, कला र संस्कृति संरक्षणमा जुटे

images
  • 806
    SHARES
  • आषाढ ६, २०८१ बुधबार
    चितवनका भुजेल समुदाय भाषा, कला र संस्कृति संरक्षणमा जुटे
    images

    भरतपुर ।

    चितवनका भुजेल समुदाय आफ्नो भाषा, कला र संस्कृति लोप हुने अवस्थामा आइपुगेपछि संरक्षणमा जुटेका छन् । आदिमकालदेखि अपनाउँदै आएको आफ्नै मौलिक पहिचानसहितको भाषासँगै संस्कार तथा संस्कृति लोप हुने खतरा बढ्दै गएपछि तालिम नै दिएर संरक्षण गर्ने प्रयासमा लागेका हुन् । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भुजेल समाज सेवा समिति चितवनले भरतपुरमा एक हप्ता लामो भाषा, कला तथा संस्कृतिसम्बन्धी तालिम आयोजना गरेको छ ।

    २०७८ को जनगणनाअनुसार चितवनमा जम्मा पाँच हजार ३०१ जना जनसङ्ख्या रहेको भुजेल समुदाय सङ्ख्यामा कमी भए पनि भाषा, संस्कार र संस्कृतिमा धनी समुदाय भएको भन्दै पुस्ताले अपनाउँदै आएका मौलिक संस्कारलाई जोगाउनका लागि तालिम आयोजना गरिएको समाजका अध्यक्ष रामबहादुर भुजेलले बताए । ‘सङ्ख्यामा कमी भए पनि हामी संस्कृति जोगाउन सक्छौँ भनेर तालिम लिएर आएका छौँ’, उनले भने, ‘आज यहाँ सिकेकाहरुले नै भोलि आआफ्नो टोलमा गएर सिकाउन सक्छन् ।’

    भरतपुर महानगरपालिका कार्यपालिका सदस्य विष्णुबहादुर भुजेलले भुजेल समुदायको अस्तित्व नै खतरामा पर्ने सङ्केत बढ्दै गएपछि जाति रहेसम्म भाषा, धर्म, संस्कार र संस्कृति जीवित राख्नुपर्ने बताए । ‘त्यसलाई बचाउन यस्तै तालिम र कार्यक्रमले मह¤वपूर्ण भूमिका खेल्छ’, उनले भने, ‘आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।’

    उद्घाटन सत्रमा बोल्दै भरतपुर महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक विकास महाशाखाकी निर्देशक शान्ताकुमारी पौडेलले आदिवासी जनजाति समुदायको कला, संस्कृति संरक्षणमा स्थानीय सरकार सहयात्री बन्न तयार रहेको बताइन् ।

    भुजेल समाज सेवा समिति चितवनका संस्थापक अध्यक्षसमेत रहेका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका सचिव रामबहादुर भुजेलले आदिवासी जनजाति समुदायले आफ्नो जातिको भाषा तथा संस्कृति संरक्षणमा आफैँले चासो देखाउनु आवश्यक रहेको बताए । ‘सबैभन्दा पहिले त हामीले नै चासो देखाउनुपर्छ’, उनले भने, ‘तब न सहयोग माग्न र दिन सकिन्छ ।’

    समाजका पूर्वअध्यक्ष प्रेम भुजेलले चितवनमा पहिलोपटक स्थानीय तहले भुजेल समुदायको सम्पत्ति संरक्षणका लागि सहयोग गरेको बताए । तर, आफूले पाउने अधिकार लिन पनि निकै ठूलो सकस खेप्नुपर्ने उनको भनाइ छ । भुजेलहरु पनि विभिन्न प्रलोभनमा परी आफ्नो जाति छोडेर अन्य जातिमा समाहित हुँदा भुजेल जातिको वास्तविक जनसङ्ख्या नआएको उनले बताए । ‘आफ्नो जातिप्रति गर्व गर्न सक्नुपर्छ’, उनी भन्छन्, ‘किनकि आज सामान्य लोभ देखेर जात परिवर्तन गर्दा त्यसले भोलिको पुस्तासम्म पनि नराम्रो असर पार्न सक्छ ।’

    भाषा, संस्कृतिसम्बन्धी तालिमसँगै महिलाहरुका लागि सीप विकास तालिमअन्तर्गत अचार बनाउने तालिमसमेत सँगसँगै सुरू भएको छ । समाजका सचिव सञ्जय भुजेलका अनुसार अचार बनाउनका लागि २५ जना सहभागी छन् । भाषा तथा संस्कृतिसम्बन्धी तालिममा भने ४५ जना सहभागी छन् ।

    धनमाया गुरूङले अचार बनाउने तालिम दिँदै आएकी छन् । संस्कार, संस्कृति र भाषा प्रशिक्षणका लागि धरानबाट बालकुमार भुजेल र भाषा प्रशिक्षणका लागि तनहुँबाट रेशम भुजेल प्रशिक्षकका रुपमा चितवन आएका छन् ।

    भरतपुर महानगरपालिकाबाट सीपमूलक तालिम (अचार बनाउन)का लागि साढे तीन लाख, भाषा तथा संस्कार, संस्कृति प्रशिक्षणका लागि चार लाख र सांस्कृतिक पोसाक खरिदका लागि एक लाख रूपैयाँ बजेट विनियोजन गरेपछि सोही शीर्षकमा तालिम आयोजना गरिएको समाजका सचिव भुजेलले जानकारी दिए ।

    उनका अनुसार तालिममा भरतपुर महानगरपालिकाभित्र भुजेल समाज सेवा समितिका छवटा इकाइ छन् । ती सबै इकाइ समितिबाट तीन जनासम्मलाई तालिममा सहभागी गराइएको छ । देशभर जम्मा एक लाख २० हजार २३४ जनसङ्ख्या रहेको भुजेल जाति सीमान्तकृत जातिमा सूचीकृत समुदाय हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend