कुरिनटार
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाको आ.व. २०८१/०८२ को कूल बजेट रु ७७ करोड ८८ लाख ९२ हजार बजेट ल्याएको छ । चालु खर्च तर्फरु.४३ करोड ०३ लाख ३७ हजार र पूँजिगत खर्च तर्फ लागि रु. ३४ करोड ८५ लाख ५४ हजार बजेट विनियोजन गरिएको हो ।
पन्ध्रौँ गाउँसभामा बजेट प्रस्तुत गर्नुहुदैँ गाउँपालिका उपाध्यक्ष माया सिलवालले सङ्घीय सरकारबाट रु.४७ करोड ४२ लाख, प्रदेश सरकारबाट रु.७ करोड ८ लाख ३४ हजार, सङ्घीय राजश्व बाँडफाँटबाट रु.९ करोड अन्ठानब्बे हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु.३ करोड नौ लाख चौसठ्ठी हजार नौ सय र आन्तरिक आय रु.१० करोड ३० लाख ९३ हजार १ सय आय हुने अनुमान गरिएको बताउनुभयो । सो मध्ये सङ्घ एवम् प्रदेश सरकारको हस्तान्तरित अनुदान फिर्ताका लागि रु ३ करोड २० लाख साथै आ.व. २०८०/०८१ को भुक्तानी बाँकीको लागि रु १ करोड विनियोजन गरिएको गरिएको उपाध्यक्ष सिलवालले बताउनुभयो ।
उपाध्यक्ष सिलवालका अनुसार नेपाल सरकार तथा प्रदेश सरकारबाट समेत शसर्त अनुदान तर्फका कार्यक्रमहरु चालु खर्च शीर्षकमा हस्तान्तरण भै आएकोले चालु खर्चको हिस्सा ५५.२४ प्रतिशत साथै पूँजिगत खर्चको हिस्सा ४४.७६ प्रतिशत हुने अनुमान गरिएको छ। गाउँपालिकाले सामाजिक विकास तर्फ सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु. ३५ करोड ५ लाख १ हजार विनियोजन गरिएको हो ।
पूर्वाधार विकास तर्फ रु. २३ करोड ३६ लाख ६८ हजार , आर्थिक विकास तर्फ रु. ६ करोड २३ लाख ११ हजार ,वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु. १ करोड २४ लाख ६२ हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ रु. ११ करोड ९९ लाख ४९ हजार विनियोजन गरिएको छ । गाउँपाकिाले लागत साझेदारीमा बाख्रापालन प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि रु २७ लाख, सुन्तला खेती प्रवर्द्धनको लागि रु २६ लाख, मौरीपालन प्रवर्द्धन कार्यक्रमको लागि रु. ७ लाख, मकैखेती प्रवर्द्धन कार्यक्रमको लागि रु.७ लाख, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनि ल्याव एवम् औषधोपचार कार्यक्रमको लागि रु.९ लाख ५० हजार, पशुपालक किसानका लागि तोकिएका पशुजन्य औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराउनको लागि रु.५ लाख, बाँझो जमिनको प्रयोगमा सहयोग तथा साना सिँचाइ कार्यक्रमको लागि रु.१५ लाख, उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ठ रु.६ लाख तथा सो को तथ्याङ्क अभिलेखीकरणको लागि रु.१ लाख, सामूहिक खेती एवम् नवप्रवर्द्धन व्यवसाय प्रोत्साहनको लागि रु.५ लाख, पर्यटकीय स्थल जलविरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रर्वद्धन र बजारीकरणमा सहयोग गर्नको लागि रु.२५ लाख, फिस्लिङ तरकारी उपज संकलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधि अनुरुप सञ्चालनमा ल्याउनको लागि रु.१० लाख, धार्मिक, पर्यटकीय, पुरातात्विक एवम् ऐतिहासिक स्थलहरुको भौतिक संरचना निर्माणमा क्रमशः उपरदाङगढीमा कोतघर निर्माण गर्न रु.१ करोड, सिराइचुली पर्यटन पूर्वाधार विकास तथा लामो झरना पर्यटन विकासमा ७ लाख, इच्छाकामना मन्दिर पूर्वाधार निर्माणमा रु.१५ लाख गरी कूल १ करोड २९ लाख विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रको विकास, अनिवार्य तथा निःशुल्क शिक्षा तथा समग्र शिक्षा क्षेत्रको व्यवस्थापनको लागि रु.२२ करोड ६४ लाख विनियोजन गरिएको छ। जसमध्ये विद्यालय पूर्वाधार सुधार कार्यक्रमको लागि करिब रु. १ करोड ५० लाख, गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरी खेलकुद क्षेत्रको विकासको लागि राष्ट्रपति रनिङ शिल्ड तथा अतिरिक्त क्रियाकलापको लागि रु.१० लाख, स्वयंसेवक शिक्षक व्यवस्थापनको लागि रु. ६ लाख, करार÷राहत शिक्षक छनौट तथा पदपूर्ति व्यवस्थालाई सहज, सरल र व्यवस्थित बनाउन शिक्षक छनौटको लागि आवश्यक रकम विनियोजन गरिएको छ।
ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामग्रीको उपलब्धता, गर्भवती महिलाहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउन विपन्न महिला पोषण सुधार कार्यक्रमको सञ्चालन, स्वास्थ्य संस्थामा तोकिएका औषधीहरुको निशुल्क वितरण, विशेषज्ञ सहितको निःशूल्क स्वास्थ्य शिविर सञ्चालन, एचआइभी संक्रमितहरुका लागि मासिक पोषण सहायता, वालिका वचत खाता साथै अति विपन्न समुदायको स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य संस्थाहरुको सुव्यवस्थित सञ्चालनका लागि रु.४ करोड ७६ लाख रकम विनियोजन गरिएको छ। साथै इच्छाकामना अस्पताल निर्माणका लागि रु.६ करोड ७१ लाख विनियोजन गरिएको छ।
यसैबिच भौतिक पूर्वाधार विकासको लागि कोटदेखि हात्तीवाङ सडक इच्छाकामना–१ सडक स्तरोन्नतीको लागि रु ३ करोड, गाउँपालिकाको मुख्य तथा पर्यटकीय सडक जलविरे ढुङ्ग्रे भालुभञ्ज्याङ इच्छाकामना सडक स्तरोन्नतिको लागि रु २ करोड, गर्दास झाङझुङ्गे सडक कालोपत्रे इच्छाकामना–७ सडकको लागि रु २ करोड, विपन्न चेपाङ आवास कार्यक्रमको लागि रु ३ करोड ३० लाख, झोलुङ्गे पुल निर्माणको लागि रु २५ लाख, धोत्रे साल देखि न्यू पोइन्ट रिसोर्ट सम्म –जोग चोक देखि रा.आ. वि. खेतबारीसम्म सडक स्तरोन्नती योजनाको लागि रु.७० लाख, सुरक्षित नागरिक आवास कार्यक्रमको लागि रु.१९ लाख, याक्राङ सिंचाई योजनाको लागि रु.२६ लाख ६० हजार, मुग्लिङ्ग तामिन इच्छाकामना जाने सडक स्तरोन्नतीको लागि रु.३० लाख, पिपलटार चेपुवाभिर दाहाखानी भञ्ज्याङ सडकको लागि रु.३० लाख, काउले स्वास्थ्य चौकी भवन निर्माण-सबलीकरणको लागि रु.२० लाख विनियोजन गरिएको छ।
विपन्न नागरिकको स्वास्थ्य विमाको १००% प्रिमियम गाउँपालिकाले वेहोर्ने व्यवस्था अनुरुप आवश्यक रकम विनियोजन गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकता अनुसारको सीप विकास गर्न “एक विद्यालय एक करेसाबारी, एक विद्यालय एक पूर्वाधार“ सुधार कार्यक्रमको लागि रु.५ लाख विनियोजन गरिएको छ। पर्यटनसँग जोडिएका होटल व्यवसाय, यातायात व्यवसाय, होमस्टे, कला संस्कृति प्रवर्द्धन एवम् स्थानीय रैथाने बालीको संरक्षणका लागि रु. २० लाख विनियोजन गरिएको छ। सार्वजनिक जग्गा संरक्षणको लागि आवश्यक रकम विनियोजन गरिएको छ।
सुरक्षित खानेपानीको विस्तारका लागि अन्य सरकारी तथा गैरसरकारी सङ्घ– संस्थासँगको साझेदारीको लागि आवश्यक रकम विनियोजन गरिएको छ।
उत्पादन सम्भाव्यताका आधारमा सिँचाइ सुविधा अन्तर्गत पूर्वाधार निर्माणको लागि बाँझो जमिनको प्रयोगमा सहयोग तथा साना सिँचाइ कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरिएको छ। स्थानीय रोजगारीको सिर्जना गर्ने “अध्यक्षसँग यूवा, खेलकुद तथा सिप विकास कार्यक्रम” र “उपाध्यक्षसँग महिला तथा सिप विकास कार्यक्रम” सञ्चालनको लागि रु. १४ लाख विनियोजन गरिएको छ।
कर दाता शिक्षा कार्यक्रम सञ्चालन साथै व्यवसाय दर्ता अभियान र कर/शूल्क संकलनको लागि स्वयंसेवक परिचालन समेतको लागि रु. ७ लाख विनियोजन गरिएको छ।
न्यायिक समितिको कार्यमा अझ प्रभावकारीता ल्याउन यसको सुदृढीकरणको लागि आवश्यक रकम विनियोजन गरिएको छ। युवा वर्गको सीप विकास मार्फत रोजगारी सृजनाका लागि रु.४६ लाख ९४ हजार विनियोजन गरिएको छ।
यसै गरी विपन्न, जेष्ठ नागरिक, अति सिमान्तकृत वर्ग, महिला, बालबालिका तथा अपाङ्गता भएका वर्ग, समुदाय र व्यक्तिहरुको संरक्षणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ। गाउँपालिका तथा अन्तर्गत कार्यरत कर्मचारीहरुलाई प्रोत्साहनको लागि गाउँपालिकाको कर्मचारी प्रोत्साहन कार्यविधि अनुरुप हुने गरी आवश्यक बजेटको व्यवस्था गरिएको छ। यसै गरी करार सेवामा रहेका कर्मचारीहरुका लागि समायोचित पारिश्रमिकका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ।



