साइकलबाटै विश्व घुम्दै चितवनका रोशन 

images
  • 204
    SHARES
  • आषाढ १२, २०८१ मंगलबार
    साइकलबाटै विश्व घुम्दै चितवनका रोशन 
    images

    भरतपुर ।

    गोरखा स्थायी घर भई चितवनमा हुर्किएका रोशन लामिछाने विश्व साइकल यात्रामा निस्किएका छन् । लामिछानेले बुधबार बिहान भरतपुर–९, धारेचोक (निवास)बाट यात्रा तय गरेका हुन् । हाललाई चितवनबाट पूर्वको यात्रामा निस्किने तयारी भएको मङ्लबार नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । 


    करिब पाँच वर्षमा विश्वका १५० बढी देशमा यात्रा गर्ने योजनासहित हाललाई पूर्वी भारत हुँदै बङ्गलादेशको यात्रा तय भएको उनले बताए । बङ्गलादेशको राजधानी ढाका पुगिसकेपछि पुनः नेपाल फर्किएर पश्चिममा महेन्द्रनगरको बाटो हुँदै भारतको राजधानी दिल्ली पुग्ने र त्यहीँबाट पाकिस्तान, अफगानिस्तानलगायतका मुलुकको भ्रमण गर्ने योजना रहेको उनले सुनाए । 


    उनका अनुसार सहयोग सङ्कलनबाटै साइकल यात्राको लागि हिँडेका लामिछानेलाई भीमसेन थापा गाउँपालिकाले साइकल सहयोग गरेको छ । वातावरण संरक्षण र मानव स्वास्थ्यको लागि साइकल यात्रामा निस्किएको उनले बताए । उनले विश्व साइकल यात्री पुष्कर शाहले साइकलमै विश्व घुमेपछि प्रकाशित गरेको पुस्तकबाट प्रभावित भएपछि आफूले पनि साइकलबाटै विश्व घुम्ने योजना बनाएको बताए । 


    साइकल यात्राको लागि करिब चार वर्षदेखि तयारी गरिरहेको उनले बताए । ‘चार वर्षसम्मको तयारीपछि यात्रा तय गरेको छु,’ उनले भने, ‘कम्तिमा पाँच वर्षभित्र १५० देश घुम्ने योजना छ । सकिएन भने समय थप हुन पनि सक्छ ।’ विभिन्न मुलुक पुग्ने क्रममा सम्बन्धित मुलुकमा लायन्स क्लब तथा रेडक्रससँग समन्वय गरेर रक्तदान तथा वृक्षरोपण गर्ने कार्यक्रम रहेको उनले बताए । 
    वि.सं.२०५५ साल पुस १० गते जन्मिएका लामिछाने गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं.२, काउलेका स्थायी वासिन्दा हुन् । हाल भरतपुर–९, धारेचोक बस्दै आएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend