उत्कृष्ट वडा बनेपछि भरतपुर–२ सम्मानित

images
  • 189
    SHARES
  • आषाढ १४, २०८१ बिहीबार
    उत्कृष्ट वडा बनेपछि भरतपुर–२ सम्मानित
    images

    भरतपुर 

    भरतपुर महानगरपालिकाले सबै सूचकमा उत्कृष्ट भएको २ नं वडालाई सम्मान गरेको छ । राजस्व सङ्कलनदेखि सेवाप्रवाहसम्मको सूचकमा भरतपुर–२ उत्कृष्ट बनेको हो । महानगरले नगरसभाको अवसरमा भरतपुर–२ लाई सम्मान गरेको हो ।

    उत्कृष्ट वडा बनेकै कारण भरतपुर–२ ले सबैभन्दा बढी बजेट पाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर–२ लाई सम्मानपत्र हस्तान्तरण गरेकी हुन् । वडा नं २ का वडाध्यक्ष मनोज रानाभाट, जनप्रतिनिधिहरु तथा कर्मचारीको टोलीले सम्मानपत्र ग्रहण गरेका थिए ।

    यस वडाले आगामी वर्ष २०८१÷८२ का लागि दुई करोड ९० लाख बजेट प्राप्त गरेको छ । वडा नं–२ का वडाध्यक्ष मनोज रानाभाटले उत्कृष्ट वडा भएर नै महानगरभरि सबैभन्दा बढी बजेट पाएको बताए । उनले भने, ‘वडाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, वातावरण सरसफाइलगायत हरेक क्षेत्रमा तीव्रतर विकास गरिरहेको छ ।’

    उनका अनुसार वडा नं २ राजस्व सङ्कलन र विकास खर्चमा पनि महानगरभरि नै उत्कृष्ट भएको वडाध्यक्ष रानाभाटले बताए । अन्य शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, ढल निर्माणलगायत हरेक क्षेत्रमा वडा उत्कृष्ट बनेको उनको भनाइ छ । ‘अर्को वर्ष अझ प्रभावकारी काम गरेर फेरि पनि उत्कृष्ट बन्ने संकल्प गरेको छु’ रानाभाटले भने ।

    वडा सचिव ओमप्रकाश न्यौपानेले ११ महिनामा भरतपुर–२ ले करिब दुई करोड राजस्व सङ्कलन गर्न सफल भएको बताए । उनले भने, ‘गत वर्ष १२ महिनामा डेढ करोड राजस्व सङ्कलन भएको थियो, अहिले ११ महिनामा करिब दुई करोड राजस्व सङ्कलन गर्न सफल भएका छौँ ।’उनका अनुसार यस कार्यमा सफलता दिलाउन लागेका वडा सदस्यहरु, कर्मचारीहरु, टोल अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सम्पूर्ण टोलवासी सबैको सहयोग छ ।

    वडाध्यक्ष रानाभाटका अनुसार वडाले सम्पूर्ण वडावासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा छूट दिएको छ । वातावरणमैत्री वडा निर्माणको लागि काम गरिरहेको छ । ढल तथा अन्य भौतिक पूर्वाधारमा पनि तीव्ररुपमा कामहरु भइरहेका छन् । वडाले सीपमूलक तालिमदेखि, बाँझो जग्गामा खेती गर्ने अभियान समेत चलाइरहेको छ ।

    विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ्क अनलाइनमा अध्यावधिक गरिएको छ । वडाभित्र पूर्णरुपमा स्मार्ट लाइट जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ । गमला राखेर वडालाई हरियाली बनाइएको छ । लागूऔषधि नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ । वातावरणमैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ । वडालाई जिल्लाकै नमुना वडाको रुपमा विकास गर्नेगरी काम गरिरहेको वडाध्यक्ष रानाभाटले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend