नुकासँग फोनमा रुँदै भन्थिन्, ‘दिदी मलाई यहाँबाट छिटो उद्धार गर ।’ ०७५ सालमा भिजिट भिसामा घरेलु कामदारका रुपमा दुबई हुँदै कुवेत पुगेकी बिना आफूलाई नेपाल फर्काइदिन परिवारसँग बिलौना गरिरहन्थिन् । ‘एजेन्टले घरको काममा दुख हुँदैन, राम्रो कमाइ हुन्छ भनेका थिए’, दिदी रेनुकाले भनिन्, ‘त्यही आशमा घरमा डेढ वर्ष र तीन वर्षका दुई साना बच्चा छोडेर कुवेत गएकी थिई ।’
‘सुरुमा राम्रै व्यवहार गरेको अरबीले पछि त बन्धकजस्तै बनाएर राखेको थियो’, रेनुकाले भने, ‘फोन पनि खोसिदिएर घरमा पनि सम्पर्क गर्न दिँदैनथ्यो । कहिलेकाहीँमात्र आफ्नै फोनबाट सम्पर्क गर्न दिन्थ्यो ।’
आफूमाथि कुटपीट हुनेक्रम बढेपछि बिनाले घर फर्किन प्रयास नगरेकी होइनन्, सफल भइनन् । ‘श्रीमान् मर्दा पनि घर आउन दिएन । बच्चा बिरामी छ भनेर अनेक बाहना बनाउदा पनि मानेन’, उनले भने ।
दिदी रेनुका अनुसार बिनासँग उनको ०८० असारमा अन्तिम पटक कुरा भएको थियो । त्यतिबेला उनले अत्तालिएको आवाजमा उनले आफ्नो बालबच्चाको ख्याल राखिदिन भनेकी थिइन् । ‘त्यसपछि उ सम्पर्कमा आइन । अहिले वर्ष बित्दा पनि उसको खबर आएको छैन’, उनले भनिन् ।
बिना कहाँ गइन्, कता हराइन् ? वर्ष दिनसम्म परिवारलाई कुनै पत्तो छैन ।
घटना २ : एजेन्टकै सेटिङमा सिन्धुपाल्चोककी २१ वर्षीया सरकिनी स्याङ्तान पनि ०८० जेठमा कुवेत पुगेकी थिइन् । अवैध रुपमा (भिजिट भिसा) कुवेत पुगेकी उनलाई एजेन्टले उनलाई अरबीकै घरमा घरेलु काममा लगाएको थियो ।
पहिलो ३ महिना स्याङ्तानलाई गाह्रो भएन, घरमा पनि पैसा पठाएकी थिइन् । त्यसपछि भने उनका दुःखका दिनहरु सुरु हुन थाले । दैनिकजसो १८ घण्टाको कामसँगै साहुको पनि दुर्व्यवहार खेप्न थालिन् ।
बेला–बेला घरमा फोन गरेको बखत आफूले पाएको दुःख परिवारलाई सुनाइरहिन्थन् । ६ महिना पछि भने परिवारसँग सबै सम्पर्क टुट्यो । ‘फोन पनि साहुले खोसिदिएको थियो । उसलाई के भयो ? कहाँ गई ? त्यसपछि कुनै खबर आएन । ८ महिनादेखि ऊ सम्पर्कमै छैन’, दाइ पानबहादुर लामाले भने ।
योबीच परिवारले उनको खोजतलासीका लागि अनेक प्रयास गर्यो । दूतावासमा पनि निवेदन दिए । तर, अहिलेसम्म कुनै सुइँको मिलेको छैन ।
परिवारलाई भने अरबीले घरमै बन्धक बनाएर राखेको आंशका छ ।
वर्षाैदेखि सम्पर्कविहीन
कुवेत पुगेकी धादिङ रुबीभ्याली गाउँपालिका–४ कि खार्पामाया तामाङ १६ वर्षदेखि परिवारको सम्पर्क बाहिर छिन् । तत्कालीन समयमा उनी भारतको बाटो हुँदै दुबईबाट कुवेत पुगेकी थिइन् ।
सामान्य परिवारकी खोर्पा कुवेत जाँदा जम्मा १५ वर्षकी थिइन् । गाउँकै छिमेकीले उनका बुबाआमालाई राम्रो कमाइ हुने भन्दै लोभ देखाएर फकाएका थिए ।
‘उ १५ वर्षकीमात्र थिई, विदेश जाने उमेर पनि पुगेको थिएन’, खोर्पाकी दिदी बेजोम तामाङ भन्छिन्, ‘एजेन्टले नै उमेर बढाएर नागरिकता, पासपोर्ट बनाएर कुवेत लगे ।’
कुवेत पुगेको ३ महिनासम्म खोर्पा परिवारको सम्पर्कमै थिइन् । त्यतिबेलासम्म ३० हजार रुपैयाँ जति घरमा पनि पठाएकी थिइन् । फोनमा कुरा पनि भइरहन्थ्यो ।
त्यसपछि एकाएक सम्पर्क बाहिर भएको पनि अहिले १५ वर्ष भइसक्यो । यो अवधिमा उनको परिवार कहाँकहाँ धाउनुपर्ने हो, सबै ठाउँमा पुगिसक्यो । तर, पनि कुनै सिप लागेको छैन ।
खोर्पाको खबर आउने आशमा परिवारको आँखा अझै पनि सल्लाझैं सुस्साइरहन्छ ।
‘छोरी हराएदेखि आमाका आँसु रोकिएका छैनन्’, दाइ पानबहादुर लामाले भने, ‘न बाँचेको खबर पाउँछ न मरेको ! हामी मन बुझाउनै सकिरहेका छैनौं ।’
परदेशमा कति महिला हराए ? तथ्यांक छैन
वैदेशिक रोजगारीका सिलसिलामा परदेश पुगेका यी घटना केवल अपवादमात्रै होइनन्, बर्सेनि थुप्रै महिला यसैगरी परदेशमै हराइरहेका छन् । कतिपय त वर्षौंदेखि परिवारको सम्पर्कमा छैनन् ।
उनीहरु कहाँ गए, कसरी हराए ? सरकारले न उनीहरुको खोजतलासी गरेको छ, न त कुनै तथ्यांक नै राखेको देखिन्छ ।
परदेशमा हराउने महिलाबारे सरकारी तथ्यांक नभए पनि विभिन्न गैरसरकारी संस्थाहरुले आफूहरुलाई प्राप्त विवरणका आधारमा तथ्यांक राख्ने गरेका छन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गरिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा पछिल्लो पाँच वर्षमा २४१ जना श्रमिक हराएको भनेर परिवारले निवेदन दिएका छन् । त्यसमा २१ जना महिलाहरु छन् ।
तथ्यांकले परदेशमा हराएका महिलाहरुमध्ये सबैभन्दा बढी खाडी मुलुकमा रहेको देखाउँछ । तथ्यांक अनुसार कुवेतमा ६, यूएईमा ४, जोर्डनमा २ जना, साउदी अरेबियामा २, कतारमा १ जना जना महिला सम्पर्क बाहिर छन् । त्यस्तै मलेशियामा ३, मालदिभ्समा २ जना महिला सम्पर्कविहीन भएका छन् ।
घरेलु कामदारका रुपमा कसरी पुग्छन् खाडीमुलुक ?
सरकारले खाडी राष्ट्रहरुमा महिलाको सुरक्षा दृष्टिकोणले नेपाली महिलालाई घरेलु कामदारमा पठाउन प्रतिबन्ध लगाएको छ । तर, विभिन्न बहानामा अवैध बाटोबाट खाडी मुलुकमा जाने क्रम भने रोकिएको छैन ।
भिजिट भिसामा अहिले पनि खाडी राष्ट्रहरुमा महिलाहरुलाई पठाउने कार्य भइरहेको छ । ‘राज्यले महिलाको सुरक्षाको दृष्टिकोणले प्रतिबन्ध लगाए पनि पठाउनेक्रम रोकिएन’, श्रम विज्ञ रामेश्वर नेपाल भन्छन्, ‘राज्यले प्रतिबन्ध लगाउने तर महिलाहरु जानेक्रम नरोकिएपछि यसले झन् ठूलो जोखिम निम्ताइरहेको छ ।’
वैदेशिक रोजगारीमा गएकाहरुका उद्धार तथा खोजतालसी गरिरहेको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अनुसार ‘फ्रि भिषा, फ्रि टिकेट’ मा पठाइदिने भनेर एकल र समस्यामा परेका महिलाहरुलाई विभिन्न प्रलोभनमा देखाएर दुबई हुँदै विभिन्न साउदी, कतार, ओमन, कुवेत, बहराइन लगायतका खाडी मुलुकहरु पुर्याइन्छ ।
संस्थाका अध्यक्ष इन्द्रलाल आलेले त्यसरी पुर्याएका महिलाहरुलाई एजेन्टले घरेलु कामदारका रुपमा अरबीका घरहरुमा बेचिन्छन् । ‘घरेलु कामदारमा अरबमा बेचिएका अधिकांश महिलाहरु श्रमदेखि यौन शोषणमा समेत पर्छन्’, उनले भने, ‘यसरी शोषणमा परेका महिलाहरु महिलाहरु कति आत्महत्या गर्छन्, कति मारिन्छन् र बेपत्ता पारिन्छन् ।’ कति भने परिवारसँग सम्पर्क गर्न नदिएर वर्षाै बन्धक बनाइएर राखिएका हुन्छन् ।
आलेका अनुसार अवैध रुपमा परदेशिएका महिला श्रमिकहरुलाई राज्यले समेत खोजी नगर्ने भएकाले उनीहरुको अवस्था खबर परिवारसम्म पुग्दैन । त्यही कारण पनि उनीहरु परिवारको नजरमा लामो समयदेखि बेपत्ता हुन पुग्छन् ।
उनले खाडी राष्ट्रबाट उद्धार गरिएका र हराएकाहरुको घटनाक्रम हेर्दा घरेलु कामदारमा महिलाहरु सुरक्षित नभएको बताउँछन् । भन्छन्, ‘एजेन्टबाट बेचिएकाले अरबीहरुले मन लागेको शोषण गर्छन् । परिवारसँग पनि सम्पर्क गर्न नदिएर वर्षाैं बन्धक बनाइन्छन् ।’



