नारायणगढ ।
नेपाल मगर विद्यार्थी संघ चितवनले लोकसेवा सम्बन्धी प्रशिक्षण दिएको छ । एसइइ तथा प्लस टु गरेका विद्यार्थीका लागि शनिबार प्रशिक्षण दिइएको हो । निजामति सेवाप्रति आकर्षित गराउने उद्देश्यसहित प्रशिक्षण दिइएको नेपाल मगर विद्यार्थी संघ चितवनका अध्यक्ष मिलन थापामगरले जानकारी दिए ।
‘विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गराउन मद्दत पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘सरकारी सेवाप्रतिको मगर विद्यार्थीको आकर्षण बढाउन पनि आन्तरिक स्रोतमार्फत कार्यक्रम गरेका हौँ ।’ यसबाट प्राप्त प्रतिकृयाको आधारमा आगामी दिनमा पनि थप कार्यक्रम गर्दै जाने उनको भनाइ छ ।

विद्यार्थी संघले गरेको यो कार्यक्रम ज्यादै मह¤वपूर्ण र प्रभावकारी हुने नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले बताए । ‘त्यसै पनि सरकारी सेवामा मगर समुदाय कम छन् । त्यसकारण यस्ता कार्यक्रमले सेवा प्रवेशमा टेवा पुग्न सक्छ,’ उनले भने, ‘समाज रूपान्तरणमा पनि यस्ता कार्यक्रमले विशेष भूमिका खेल्न सक्छ ।’
विद्यार्थीले विद्यार्थीलक्षित कार्यक्रम आयोजना गरेर संस्थाको गरिमा बढाउने प्रयास गरेको उनको भनाइ छ । ‘विद्यार्थीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्छ,’ उनले भने, ‘त्यसको लागि सहयोग गर्न हामी तयार छौँ ।’ मगर संघमातहतका सबै संघसंस्था तथा संगठनहरूले संस्थाअनुसारको तालिम आयोजना गर्दै जान सके चितवनका मगर समुदायलाई पनि सक्षम बनाउन सकिने उनले बताए ।
करिब ८० जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनकी अधिकृत अन्तिम सिञ्जाली मगरले प्रशिक्षण दिएकी छन् । उनले लोकसेवा र त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् । जनतालाई सेवा दिलाउने गरी सरकारी काम गर्ने माध्यम नै लोकसेवा भएको हुँदा स्वदेशमै बसेर सेवामुलक काम गर्ने सोच भएकाहरूका लागि सबैभन्दा राम्रो माध्यम भएको उनको भनाइ छ ।
‘निजामति सेवामा प्रवेश गर्ने माध्यम भनेकै लोक सेवा हो,’ उनले भने, ‘त्यसकारण सरकारी सेवाबाटै देशको सेवा गर्ने योजनामा रहेकाहरूका लागि प्रवेश द्वार हो ।’ प्रशिक्षणमा नेपाल मगर संघअन्तर्गत जिल्लाभर रहेका सबै प्रारम्भिक इकाइ समिति तथा विभिन्न टोलबाट प्रतिनिधिमुलकरूपमा विद्यार्थीहरूलाई उपस्थित गराएको थियो ।
मगर विद्यार्थी संघले हरेक वर्ष विभिन्न खालका प्रशिक्षण, शैक्षिक गतिविधि तथा सामाजिक कामलाई निरन्तरता दिँदै आइरहेको छ ।



