साउन १ देखि आफ्नै भवनबाट सेवा दिने तयारीमा देवघाट  पालिका

images
  • 300
    SHARES
  • आषाढ २८, २०८१ बिहीबार
    साउन १ देखि आफ्नै भवनबाट सेवा दिने तयारीमा देवघाट  पालिका
    images

     
    देवघाट ।

    स्थानीय तह कार्यान्वयन भएको सात वर्षपछि बल्ल देवघाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिने भएको छ । सातवर्षसम्म भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले यही नयाँ आर्थिक वर्षबाट आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको हो । गाउँपालिकाले वडा नं.५ स्थित क्युदीमा निर्मित तीन तले भवनमा बिहीबार विधिवतरूपमा पूजाआराधना गरेर औपचारिक प्रवेशको बाटो खुला गरेको छ । नयाँ भवनबाट पालिका सञ्चालन गर्न आवश्यक सबै तयारी सकिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार हालसम्म सेवा दिँदै आएको घरको भाडा सम्झौतासमेत यसैवर्ष सकिएको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नगरिदिँदा पालिकाले लामो समयसम्म भाडाको घरबाट सेवा दिन बाध्य भएको उनको भनाइ छ । 450914458_461619523171334_8847337562402042825_n.jpg


    गाउँपालिकाले पाँच करोड रूपैयाँको लागतमा उक्त भवन निर्माण गरेको हो । प्रदेश र केन्द्र सरकारबाट ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत बजेटमा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको प्रमुख इञ्जिनियर तीर्थराज ढुङ्गानाले जानकारी दिए । 

    450921471_461619539837999_7666726282951379840_n.jpg
    उनका अनुसार निर्माण गर्ने जिम्मा पाएको रविना–अविशा जेभीसँग दुई वर्षमा काम सक्ने गरी २०७७ असार २२ गते सम्झौता भएको थियो । तर, कोरोना भाइरस संक्रमणको कारण देखाउँदै ठेकेदार कम्पनीले समयमै काम नगरिदिँदा पाँच पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको उनले बताए । पछिल्लो सम्झौता यही असार मसान्तमा सकिँदै छ । 
    ‘भवन निर्माणको काम सकिएको छ । कूल पाँच करोड रूपैयाँ बजेटमध्ये चार करोड ८६ लाख रूपैयाँ रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘अब अन्तिम किस्ता बाँकी छ ।’ ४२ कोठासहितको उक्त भवनमा लिफ्टसमेत जडान गरिएको छ । ‘हामीले प्रशासकीय भवनलाई अपाङ्गमैत्री बनाएका छौँ,’ उनले भने । 450366911_461621576504462_7668889790719973865_n.jpg


    भवन निर्माण कार्य सकिए पनि बाहिरी काम भने गर्न बाँकी नै छ । करिब ४५ रोपनी क्षेत्रफलमा फैलिएको गाउँपालिकाको प्रशासकीय भवनलाई अन्तिम रूप दिन बाहिरी काम पूरै बाँकी रहेको गाउँपालिकाका प्रमुख इञ्जिनियर ढुङ्गानाले जानकारी दिए । ‘भवनबाहेक बाहिरी काम थालेकै छैन,’ उनले भने, ‘घेराबार, सुरक्षाकर्मी कोठा, प्रवेशद्वारा निर्माणलगायतका काम गर्नुपर्ने छ ।’ 

    450756645_461621429837810_5471878960613005863_n.jpg
    पालिका भवनको आगन सम्याउने तथा आकर्षक बगैँचा (गार्डेनिङ) गर्ने कामसमेत बाँकी रहेको उनले बताए । ‘यी सबै काम गर्नको लागि कम्तिमा पनि दुई करोड रूपैयाँ रकम खर्च हुने अनुमान गरेका छौँ,’ उनले भने, ‘गाउँपालिकासँग आयस्रोत थोरै भएकोले प्रदेश र केन्द्रकै मुख ताक्नु परेको छ ।’ आगामी दिनमा ती सबै कामलाई बिस्तारै पूरा गर्दै जाने उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend