आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

images
  • 131
    SHARES
  • श्रावण १७, २०८१ बिहीबार
    आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
    images

    काठमाण्डौ 

    अस्ति मङ्गलवार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा ठूलो पानी परेकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा हल्का पानी परेको छ ।

    पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६५ दशमलव ८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा भने फाट्टफुट्ट मात्रै पानी परेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताउनुभयो ।

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाकाअनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend