आदिवासी दिवस मनाउँदै जनजाति महासंघ चितवन

images
  • 173
    SHARES
  • श्रावण २२, २०८१ मंगलबार
    आदिवासी दिवस मनाउँदै जनजाति महासंघ चितवन
    images

    भरतपुर 

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले ३०औँ आदिवासी दिवस मनाउने तयारी गरेको छ । यही साउन २५ गते परेको दिवसको लागि आवश्यक तयारी भइरहेको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।

    उनका अनुसार कार्यक्रममा आदिवासी जनजातिले उठाउँदै आएका मुद्धामाथि बहस हुनेछ । ‘हामीले वर्षौँदेखि राज्यसँग माग गर्दै आएका कतिपय मुद्धाले अझै पनि पूर्णता पाउन सकेका छैनन्,’ उनले भने, ‘त्यस्ता मुद्धामाथि केन्द्रित रहेर छलफल चलाउँछौँ । जसबाट राज्यको निकायको ध्यानाकर्षण होस् ।’ राज्यबाट आदिवासी जनजातिका सबै मुद्धामाथि सम्बोधन नगरेसम्म आदिवासी जनजातिको आन्दोलन नरोकिने उनले बताए ।

    ‘संविधानमा प्रदत्त कतिपय मुद्धालाई राज्यले वास्ता गरेको छैन । त्यसकारण हामी अझै पनि राज्यबाटै अपहेलित भएका छौँ,’ उनले भने, ‘त्यस्ता मुद्धालाई पनि सम्बोधन गराउने गरी केन्द्रदेखि जिल्ला तहसम्म नै आन्दोलनको रूपमा कार्यक्रम गर्ने तयारी भइरहेको छ । हामी पनि त्यही गर्दैैछौँ ।’

    साथै आदिवासी जनजातिका संस्कृतिलाई पनि मञ्चबाट प्रस्तुत गर्ने उनले बताए । दिवसको अवसरमा चितवनमा बसोबास गर्दै आएका थारू तथा चेपाङसहित सबैजसो आदिवासी जनजाति समुदायको सांस्कृतिक लोक नृत्यसमेत प्रस्तुत गर्ने तयारी भएको उनले बताए । ‘संस्कृतिले धनी समुदाय भएको हुँदा हामीले हाम्रो लोक संस्कृतिलाई पनि संरक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसकारण हामीले सबैजसो आदिवासी जनजातिका मौलिक संस्कृतिलाई पनि संरक्षण गर्ने प्रयास गरेका छौँ ।’

    उनका अनुसार गुरूङ समुदायको घाँटु, मगर समुदायको कौराहा, दुरा समुदायको ठाडोभाकासहित विभिन्न आदिवासी जनजातिको सांस्कृतिक नृत्य प्रस्तुत हुनेछन् । ‘घाँटु तथा ठाडोभाका जस्ता रैथाने भाका लोप हुने अवस्थामा पुगिसकेको हुँदा त्यसलाई संरक्षण गर्नु पनि उत्तिकै आवश्यकता छ,’ उनले भने, ‘त्यसकारण वर्षमा एक दिन कार्यक्रम आयोजना गर्दा पनि संरक्षणमा थोरै सहयोग पुग्ने विश्वास छ ।’

    यसपटक नारायणी कला मन्दिरमा भव्य कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी गरिएको उनले बताए । दिवस मनाउनको लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ चितवन आउने उनले बताए ।

    चितवनमा आदिवासी जनजाति महासंघमा हालसम्म १७ जाति संगठित भएका छन् । २०७८ सालको जनगणनाअनुसार ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा आदिवासी जनजातिको जनसङ्ख्या एक लाख ७१ हजार ७९२ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend