बागलुङ पहिरोमा परी घाइते भएका तीन जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

images
  • 201
    SHARES
  • श्रावण २३, २०८१ बुधबार
    बागलुङ पहिरोमा परी घाइते भएका तीन जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो
    images

    बागलुङ, साउन २३

    बागलुङमा पहिरो परी घाइते भएका तीन जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइएको छ ।

    बडिगाड गाउँपालिका १० आरुपाटामा हिजो (मंगलबार) खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको हो । अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

    सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो ।

    त्यस्तै २६ वर्षीय ओमप्रसाश पुन, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक र ९ वर्षीय ज्ञाने बुढालाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

    बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा घरधनी जोगबहादुर बुढा, छिमेकी ७० वर्षीया मोतीदेवी कामी, सिर्जना विकको ६ महिनाकी छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा र ११ वर्षीया सीता पुनले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।

    मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको सहायक सीडीओ बरालले जानकारी दिए । ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend