विदेश पढ्न जान अनुमति लिने विद्यार्थीको सङ्ख्या तीन सय प्रतिशतले बढ्यो

images
  • 105
    SHARES
  • श्रावण ३१, २०८१ बिहीबार
    विदेश पढ्न जान अनुमति लिने विद्यार्थीको सङ्ख्या तीन सय प्रतिशतले बढ्यो
    images

    काठमाण्डौ 

    पछिल्लो १० वर्षमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् पढ्न जान अनुमति (एनओसी) लिनेको सङ्ख्या तीन सय प्रतिशतले बढेको छ ।

    एक दशकअघि अर्थात् आर्थिक वर्ष २०७०/७१ मा उच्च शिक्षाका लागि विभिन्न देश जान मन्त्रालयको छात्रवृत्ति शाखाबाट २८ हजार एक सय २६ वटा एनओसी जारी भएकोमा गएको आर्थिक वर्ष २०८०/८१ मा ६६ वटा देशका लागि एक लाख १२ हजार दुई सय ५६ वटा एनओसी जारी भएका छन् । हरेक वर्ष एनओसी लिनेको सङ्ख्यासँगै उच्च शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ ।

    नेपाल राष्ट्र बैङ्ककाअनुसार पछिल्लो १० वर्षमा उच्च शिक्षाका नाममा पाँच खर्ब १८ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ । विदेशमा पढ्न जाने विद्यार्थीलाई मुद्रा सटहीका लागि एनओसी लिन्छन् । एनओसीका आधारमा विद्यार्थीले बैङ्किङ प्रणालीमार्फत विदेशका कलेज तथा विश्वविद्यालयमा शुल्क पढाउँछन् ।

    यसरी बैङ्कमार्फत रकम पठाउँदा उनीहरुले तीन प्रतिशत शिक्षा सेवा शुल्क बुझाउनुपर्छ । विगतमा नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको अष्ट्रेलिया गएको आर्थिक वर्षमा तेस्रो स्थानमा छ । अहिले जापान पहिलो रोजाइमा छ । त्यसपछि क्यानडा रहेको छ । अष्ट्रेलिया सरकारले लिएको नीतिका कारण त्यहाँ जाने नेपाली विद्यार्थीको सङ्ख्या कम भएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईको बुझाइ छ ।

    उच्च शिक्षाका लागि कतार र युएई जान चाहने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय छ । शिक्षा मन्त्रालयकाअनुसार गएको आर्थिक वर्षमा कोरियामा अध्ययन गर्न जानका लागि छ हजार आठ सय ८९ वटा एनओसी जारी भएका छन् । कोरियाले सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको सङ्ख्या तीन लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend