काठमाण्डाै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनुभयो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र पालिकालाई भनिसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सातै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।
केही दिनयता अफ्रिकी देश कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र यो भाइरसका कारण पाँच सय ४८ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको छ ।
मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।



