लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाए

images
  • 286
    SHARES
  • भाद्र ८, २०८१ शनिबार
    लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाए
    images

    चितवन –

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ ।

    चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो । ‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो’, उहाँले भन्नुभयो, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’

    सभापति लामिछानेले हिजो छानबिन समितिलाई १० घण्टा लामो बयान दिनुभएको थियो । उहाँले गितेन्द्रबाबु राई जीबीको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उहाँको भनाइ थियो ।

    कांग्रेसका नेताहरुतर्फ लक्षित गर्दै उहाँले संसदमा बोल्दा रविले ऋण लिएको प्रमाण छ भन्नेहरूले एक सय छ दिनसम्म प्रमाण दिन नसकेको बताउनुभएको छ । ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिएँ, प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु,’ उहाँले भन्नुभयो ।

    सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभए पनि हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दाबी गर्नुभएको छ । सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गर्नुभयो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend