शान्तिमाया गुरूङको दैनिकी अचार बनाएर बित्छ

images
  • 165
    SHARES
  • भाद्र १३, २०८१ बिहीबार
    शान्तिमाया गुरूङको दैनिकी अचार बनाएर बित्छ
    images

    भरतपुर 

    छोप अर्थात् अचार । सबैको भान्छामा अनिवार्य त नहोला । तर, अधिकांशले खानासँगै अचार खान निकै रूचि राख्छन् । होटल सञ्चालन गर्नेहरुका लागि त अचार खानाको तालिकाभित्र अनिवार्य हुन्छ । बजारमा अचारको प्रयोग र माग बढ्दै जाँदा भरतपुरका एक दम्पतीले अचारलाई नै आफ्नो परिवार चलाउने प्रमुख माध्यम बनाएको छ ।

    मनाङमा सिकेको सीपलाई प्रयोगमा ल्याउँदा यसबाट सकारात्मक प्रतिक्रिया पाएपछि भरतपुर–५, नारायणपुरकी शान्तिमाया गुरूङको दैनिकी नै अचार बनाउनेमा बित्ने गरेको छ ।

    सुरूमा अचार बनाएर छिमेकी, आफन्तहरुलाई चखाउँदा सबैबाट राम्रो प्रतिक्रिया पाएपछि उनले ‘माया फुड प्रोडक्ट’ नाममा दर्ता गरेरै अचारको उद्योग खोलेकी हुन् । ‘पहिला मनाङमा हुँदा नै अचार कस्तो बनाउने, के–के हाल्ने भन्ने कुरा जानेकी थिएँ’, उनी भन्छिन्, ‘मनाङमा बनाएको अचार चितवन आएपछि पनि धेरैलाई चखाएँ । सबैले मन पराउनुभयो । र, अहिले यसैलाई पेसाको रुपमा विकास गरेकी छु ।’

    श्रीमान् देवराज तामाङ पनि श्रीमतीको काममा सहयात्री बनेका छन् । घरमै अचार बनाएर बाहिर पठाउँदा उनै श्रीमान्ले सघाउँदै आएका छन् । ‘श्रीमतीले अचार बनाउने, मचाहिँ सामान ल्याइदिने, पु¥याइदिने, थप बजारीकरण गर्ने काममा व्यस्त हुन्छु’, देवराज भन्छन्, ‘किनकि एक्लैले सबै काम भ्याउँदैन ।’

    मानिसमा जाँगर भए चना भुटेर बेचे पनि राम्रो आम्दानी गर्न सक्ने रहेछ भन्ने पाठ सिकाएको उनले बताए । लामो समय रोजगारका लागि विदेश बसेका देवराज अहिले परिवारसँग बसेर गर्न सफल भएको आम्दानीले खुसी छन् । ‘कमाइ कति हुन्छ भनेर हिसाब छैन । तर, हाम्रो पाँच जनाको परिवारलाई सुख दिलाएको छ’, उनले भने ।

    अहिले शान्ति र देवराजको जोडीले टिमुर र सिद्रा माछाको अचारलाई बजारीकरण गरिरहेको छ । यो जोडीले बनाएको अचार चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायतका जिल्ला पुग्ने गरेको छ । ‘हामीले घरमै बसेर सानो लगानीमा व्यवसाय थालेका हौँ’, उनले भने, ‘घरमै गरेको कामले परिवार चलेको छ, बाहिर जानु परेको छैन ।’

    हेर्दा सानो र सामान्य लाग्ने कामबाट पनि राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखेको छ, यो जोडीले । ‘हाम्रो अरु आयस्रोत छैन । यहीँबाट परिवार चलेको छ’, शान्तिमाया भन्छिन्, ‘पाँच जनाको परिवार सबै यसैबाट चलेको छ । यति भए के चाहियो र ?’ अचार बनाउने कलाको विषयमा कुनै तालिम लिएकी छैनन्, शान्तिले । माइतमा छँदा घरमा बनाउने अचारलाई नै उनले चितवनमा बजारीकरण गरेकी हुन् । त्यसैले, उनीसँग धेरैथरी अचार बनाउने कला छ । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हाल दुईथरीको अचार बनाउने अनुमतिमात्रै पाएको हुँदा अनुमति पाएको काममात्रै गरेको उनको भनाइ छ ।

    उनले आवश्यक पर्दा मस्यौरा, राँगाको सुकुटी र कुखुराको मासुको समेत अचार बनाउन सक्छिन् । दर्ता नभएका उत्पादन बजारमा पठाउन नहुने भएकोले उनले त्यसलाई व्यावसायिकरुपमा अघि बढाएकी छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट थप अनुमति लिएपछि मात्रै त्यसलाई पनि उत्पादन र बजारीकरण गर्ने योजनामा रहेको उनले सुनाइन् ।

    अहिले उनले टिमुर र माछाको अचारलाई ३० र एक सय ग्राममा उत्पादन गर्दै आएकी छन् । मागअनुसार थप परिमाणमा पनि उत्पादन गर्दै आएको उनको भनाइ छ । ‘बजारमा सानो भाँडोको अचार बढी बिक्री हुने भएकोले पनि हामीले सानैलाई प्राथमिकतामा राखेका छौँ’, उनले भनिन्, ‘ठूलो भाँडोमा कसैले भन्यो भने बनाइदिन सकिन्छ ।’

    अहिले दैनिक चार किलो माछाको अचार उत्पादन र बिक्री हुने गरेको छ । सोहीअनुसार टिमुरको अचार पनि उत्पादन र बिक्री हुँदै आएको छ । भावी दिनमा यसलाई विस्तार गर्दै उत्पादन क्षमता र बजारीकरणमा वृद्धि गर्दै लैजाने उनले बताइन् । ‘भावी दिनमा माया फुडको उत्पादनलाई ब्रान्ड बनाएर लैजाने हो’, उनले भनिन्, ‘किनकि हरेक दिन माग बढ्दै गएको छ । विदेशमा समेत यो अचारको माग हुन थालेको छ ।’

    एक किलो माछा ल्याएर थालेको अचारको उत्पादन अहिले दैनिक चार किलोमा आइपुगेको छ । उनी खाना पकाउनमा पनि निकै सिपालु छिन् । त्यसैले भोज, भतेर हुँदा पनि खानपिन गर्न परेमा गाउँलेले उनैलाई अघि सार्छन् । मनाङमै जन्मेहुर्केकी शान्ति विवाहपश्चात् चितवन आएकी हुन् ।

    #माछाको अचार बनाउँदै शान्तिमाया गुरूङ तामाङ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend