मुग्लिन–पोखरा सडक निर्माण सुस्त

images
  • 113
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    मुग्लिन–पोखरा सडक निर्माण सुस्त
    images

    काठमाण्डौ 

    मुग्लिन–पोखरा सडकको यात्रा कष्टकर भएको गुनासो बढिरहँदा निर्माण कम्पनीले अबको १५ महिनाभित्र सक्ने प्रतिबद्धता जनाएको छ ।

    हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम चाँडै गर्न निर्देशन दिएपछि निर्माण कम्पनीका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा विभाजन गरी राजमार्ग स्तरोन्नति भइरहेको छ ।  

    सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहँदा सङ्घीय राजधानी काठमाण्डौ र पर्यटनको राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वीराजमार्गमा यात्रा कष्टकर छ । राजमार्ग निर्माण ढिलो हुँदा स्थानीयबासिन्दा, यात्रु र पर्यटकले सास्ती बेहोर्नुपरेको छ ।  दुई घण्टामा छिचोलिने बाटो चार घण्टामा पूरा गर्न पनि कठिन भएको छ । राजमार्गको पूर्वी खण्डको काममा केही प्रगति भए पनि पश्चिम खण्डमा निकै ढिलाइ भएको छ ।

    हिजो भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पूर्वी खण्डमा निर्माण अघि बढ्दा अहिले केही सहज भएको छ तर पश्चिम खण्डमा काम ढिलो हुँदा यात्रुलाई सास्ती भएको बताउनुभयो । सडक निर्माणमा कुनै समस्या भए प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता गर्दै उहाँले कामको गति बढाउन आग्रह गर्नुभयो ।

    मुग्लिन पोखरा सडक निर्माण आयोजनाले अहिलेसम्म पूर्वी खण्डमा ६४ प्रतिशत र पश्चिम खण्डमा ३० प्रतिशत काम भएको जनाएको छ । छलफलबाट दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी नघट्ने गरी निर्माण सामग्रीमा एकमुष्ट रोयल्टी लिने निर्णय भएको छ ।

    सडक क्षेत्रका बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्डाखुल्डी पुरी गाडी सञ्चालन सहज बनाउन आयोजनाले काम गर्ने भएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend