देवनगर दुग्ध उत्पादक सहकारीको उद्योगबाट कुहिएको ३०६ किलो नौनी बरामद गरी नष्ट

images
  • 184
    SHARES
  • भाद्र २७, २०८१ बिहीबार
    देवनगर दुग्ध उत्पादक सहकारीको उद्योगबाट कुहिएको ३०६ किलो नौनी बरामद गरी नष्ट
    images

    भरतपुर 

    भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्थाको उद्योगबाट कुहिएको ३०६ किलो नौनी बरामद गरी नष्ट गरिएको छ । बेच्न भनी उद्योगको कोल्ड स्टोरमा राखिएको ढुसी लागेर बिग्रिएको नौनी अनुगमन टोलीले बरामद गरी नष्ट गरेको हो ।

    त्यस्तै, कोल्ड स्टोरमै राखिएको शङ्कास्पद ५० किलो ‘देव घिउ’ ब्रान्डको घिउलाई सिल गरिएको छ । देवनगर दुग्ध सहकारीले कुहिएको नौनी र घिउलाई ताजा घिउमा मिसाएर बिक्री गरिरहेको भनी जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मंगलबार उजुरी परेको थियो ।

    दुवै नियामक निकायमा एकै प्रकृतिको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार सहकारीको उद्योगमा अनुगमन गरेको हो । सहकारीको उद्योगमा निरीक्षण गर्दा उजुरीमा भनिएको जस्तै कैफियत भेटिएको सहायक प्रजिअ शर्माले बताए । ‘ताजा घिउमा ढुसी लागेर बिग्रिएको नौनी र घिउ मिसाएर बिक्री गरिरहेको छ भन्ने उजुरी आएपछि हामीले अनुगमन गरेका थियौँ ।

    ढुसी लागेर बिग्रिएको नौनी र घिउहरु पनि कोल्ड स्टोरमा राखिएको रहेछ । ढुसी लागेको ३०६ किलो नौनी हामीले नष्ट ग¥यौँ । बिग्रिएको वस्तुलाई पनि कोल्ड स्टोरमै किन राखियो भनेर हामीले थप अनुसन्धान गर्दै छौँ’, उनले भने । शङ्कास्पद घिउको गुणस्तर परीक्षणका लागि नमुना लिइएको उनले बताए । आधा किलोका ९८ वटा डब्बा र एक किलोको एउटा डब्बा गरी ५० किलो घिउ सिल गरेर छाडिएको छ । शङ्कास्पद घिउलाई बोरामा हाली लाहाछाप लगाई कोल्ड स्टोरमै राखिएको छ ।

    नमुनाको ल्याब परीक्षण गरी प्रतिवेदन आएपछि सोहीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने छ । प्रशासनले चाडपर्वलक्षित अनुगमनलाई निरन्तरता दिने उनले बताए । खाद्यान्न, डेरी, मासु पसललगायत अत्यावश्यक वस्तु बिक्री गर्ने पसल र उद्योगमा अनुगमन गरिने उनले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत सौरभ श्रेष्ठका अनुसार सहकारीको उत्पादनस्थलमा पुगेर निरीक्षण गर्दा प्रशोधन कक्षमै रहेको कोल्ड स्टोरमा उजुरीबमोजिमकै कैफियत फेला परेको हो ।

    ‘बिग्रिएको नौनी मुचुल्का गरी नष्ट गरेका छौँ । घिउको भने गुणस्तर यकिन गर्न खाद्य प्रविधिको हेटौँडा प्रयोगशालामा पठाउनलाई नमुना संकलन गरेका छौँ’, उनले भने । घिउको प्रतिवेदन विश्लेषणका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।

    सहकारीका अध्यक्ष रत्नमणि न्यौपानेलाई बयानका लागि बिहीबार बोलाइएको छ । ढुसी लागेर कुहिएको नौनीलाई पनि कोल्ड स्टोरमा राख्नु शङ्कास्पद गतिविधि देखिन्छ । अखाद्य वस्तुलाई प्रशोधन कक्षमै भण्डारण गरेर राख्ने कार्य खाद्य ऐन, २०२३ को बर्खिलाप हुने हो । खान नहुने नौनी र शङ्कास्पद घिउ कोल्ड स्टोरमा किन राखियो भनी प्रश्न गर्दा सहकारीका अध्यक्ष न्यौपानेले प्रतिक्रिया दिन अस्वीकार गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend