दमौली,भदौ २९
गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१र८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले १७ वटा सडक तथा पुलका लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँका अनुसार शालिग्राम कोरिडोर (दासढुङ्गा साधेबगर भतेरी खण्ड) का लागि रु २० करोड विनियोजन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको थियो । त्यस्तै, ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी रहेको तिवारीले बताउनुभयो । उहाँका अनुसार सालबसाली सम्पन्न भएका योजना एक सय १९ छन् भने सालबसाली सम्पन्न नभएका १४ योजना छन् । रासस



